काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त भएकी छन्। परिषद्को उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा नियुक्त भएका छन्।
त्यस्तै, परिषद् सदस्यमा गणेश दंगाल, सन्तोषकुमार ठाकुर, सतिसकुमार देव, धर्मागत भट्टराई र रबा थापा नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
डा. बस्नेतको शैक्षिक तथा व्यावसायिक पृष्ठभूमि
नवनियुक्त अध्यक्ष डा. बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागकी प्राध्यापक तथा विभागीय प्रमुख हुन्। उनी वरिष्ठ बालरोग विशेषज्ञ, प्राध्यापक तथा अनुसन्धानकर्ताका रूपमा परिचित छन्।
डा. बस्नेतले भारतको युनिभर्सिटी अफ कलकत्ताबाट एमबीबीएस, त्रिभुवन विश्वविद्यालयबाट बालरोगमा एमडी तथा नर्वेको युनिभर्सिटी अफ बर्गेनस्थित सेन्टर फर इन्टरनेसनल हेल्थबाट पीएचडी गरेकी छन्।
डा. महोत्राको पृष्ठभूमि
परिषद्का नवनियुक्त उपाध्यक्ष डा. महोत्रा त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पसमा क्लिनिकल फिजियोलोजी विषयका प्राध्यापक तथा विभागीय प्रमुख हुन्।
उनले चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमडी (क्लिनिकल फिजियोलोजी), एमबीबीएस तथा जनरल मेडिसिनमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेका छन्।
डा. महोत्राले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नैतिक समीक्षा समिति (एथिकल बोर्ड) मा रहेर स्वास्थ्य अनुसन्धानसँग सम्बन्धित काममा समेत योगदान दिएका छन्। अनुसन्धानको क्षेत्रमा अनुभव हासिल गरेका डा. बस्नेत र डा. महोत्राको नेतृत्वमा परिषद्को अनुसन्धान तथा संस्थागत गतिविधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्