जाजरकोट । साउन २९ गते परेको अविरल वर्षापछि नलगाड नगरपालिका–१० स्थित तासुगाड खोलामा आएको बाढीले पुल बगाएपछि स्थानीयवासी जोखिम मोलेर खोला वारपार गर्न बाध्य भएका छन्।
बाढीले पुल, सडक तथा आसपासका घरटहरा बगाएपछि आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ। वैकल्पिक बाटोसमेत नभएपछि स्थानीयवासीले आफैँ तुइन बनाएर खोला वारपार गर्न थालेका हुन्। बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।
खोलामा पानीको बहाव अझै नघटेकाले जोखिम कायमै छ। स्थानीयवासी खिमबहादुर मल्लका अनुसार पुल र सडक बगाएपछि अत्यावश्यक कामका लागि आवतजावत गर्न समस्या भएपछि स्थानीयले तुइन निर्माण गरेका हुन्।
उनका अनुसार बाढीबाट प्रभावित क्षेत्रका बिरामीलाई स्वास्थ्य संस्था तथा अस्पतालसम्म पुर्याउनसमेत कठिनाइ भइरहेको छ। विशेषगरी सुत्केरी, गर्भवती महिला तथा अन्य बिरामीले समयमै स्वास्थ्य सेवा पाउन नसक्ने अवस्था सिर्जना भएको छ।
मल्लले नलगाड नगरपालिकाका तीनवटा वडाका बिरामीलाई उपचारका लागि नगर अस्पताल दल्लीसम्म ल्याउन समस्या भइरहेको बताए। सडक र पुल अवरुद्ध भएपछि औषधि उपचारका लागि समेत स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
चार वडाका नागरिक प्रभावित
बाढीले झोलुङ्गे पुल र सडकमा क्षति पुर्याएपछि नलगाड नगरपालिका–१०, ११, १२ र १३ का स्थानीयवासी प्रभावित भएका छन्। प्रशासनिक केन्द्रसम्म पुग्न तथा बिरामीलाई उपचारका लागि लैजानसमेत कठिनाइ भएको स्थानीयको भनाइ छ।
वैकल्पिक मार्ग नहुँदा जोखिम भए पनि स्थानीयवासीले तुइनमार्फत आवतजावत गरिरहेका छन्। नलगाड नगरपालिकाका उपप्रमुख देवका लामिछानेका अनुसार स्थानीय सरकारले तुइन निर्माणबारे औपचारिक जानकारी पाएको छैन।
उनले अविरल वर्षाका कारण खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले तुइनमार्फत आवतजावत गर्नु जोखिमपूर्ण रहेको बताइन्। स्थानीय प्रशासनले पनि जोखिमपूर्ण रूपमा खोला वारपार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
वैकल्पिक सडक निर्माणमा कठिनाइ
उपप्रमुख लामिछानेका अनुसार नलगाड नगरपालिकाका प्रभावित वडासँगै रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित गोतामकोटका स्थानीयवासीसमेत सहज आवतजावतबाट वञ्चित भएका छन्।
वैकल्पिक सडक निर्माणका लागि पहल भइरहेको भए पनि खोलामा पानीको बहाव नघट्दा काम अघि बढाउन कठिनाइ भइरहेको उनले बताइन्। पुल र सडक बगाएपछि स्थानीयवासी अत्यावश्यक सेवा लिनसमेत कठिन अवस्थामा पुगेका छन्।
बाढीको जोखिम कायमै रहेकाले तत्काल सुरक्षित वैकल्पिक मार्ग निर्माण गरी स्थानीयवासीको आवतजावत सहज बनाउनुपर्ने आवश्यकता देखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्