आशिकाको व्यवहारप्रति रास्वपाकै सांसदको आपत्ति, आचरण सुधार्न सुझाव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङको सदनमा देखिएको व्यवहारप्रति उनकै पार्टीकी सांसद स्मृति सेन्चुरीले आपत्ति जनाएकी छन्। सेन्चुरीले आशिकाको व्यवहारलाई संसदीय मर्यादासँग जोड्दै आचरण सुधार गर्न सुझाव दिएकी हुन्।
सेन्चुरीले सभामुखको आग्रह बेवास्ता गर्दै असन्तुष्टि जनाएर सदनबाट बाहिरिनु सांसदको अधिकार नभएको बताएकी छन्। सामाजिक सञ्जालमार्फत उनले सभामुख सम्पूर्ण सदनको सम्मानित नेतृत्व भएकाले उहाँको निर्देशन र आग्रहलाई सांसदहरूले पालना गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।
“सभामुख केवल आसनमा बस्ने व्यक्ति होइन, सम्पूर्ण सदनको सम्मानित नेतृत्व हो। आफ्नो कुरा राख्ने अधिकार सबैलाई छ, तर सभामुखको आग्रहलाई बेवास्ता गर्दै रिसाएर सदनबाट निस्किनु अधिकार होइन, संसदीय मर्यादामाथिको प्रश्न हो,” सेन्चुरीले भनेकी छन्।
उनले लोकतन्त्रमा सांसदको सम्मान आवाजको चर्कोपनमा नभई आचरणमा निर्भर हुने बताएकी छन्। “लोकतन्त्रमा आवाज ठूलो भएर होइन, आचरण ठूलो भएर सम्मान पाइन्छ,” उनले उल्लेख गरेकी छन्।
प्रश्नोत्तरमा असन्तुष्टि
परराष्ट्रमन्त्री शिशिर खनालसँगको प्रश्नोत्तरका क्रममा चित्त नबुझेपछि सांसद तामाङले पूरक प्रश्न गर्न खोजेकी थिइन्। तर सभामुखले उनलाई रोक्दै संसदीय मर्यादा कायम राख्न आग्रह गरेका थिए।
सभामुखको आग्रहपछि तामाङ असन्तुष्ट हुँदै सदनबाट बाहिरिएकी थिइन्। यही घटनालाई लिएर सांसद सेन्चुरीले सार्वजनिक रूपमा आपत्ति जनाउँदै संसदीय अभ्यास र मर्यादालाई प्राथमिकता दिनुपर्ने बताएकी हुन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्