काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमा खराब कर्जा (एनपीएल)को दबाब बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार केही वाणिज्य बैंकमा खराब कर्जा दोहोरो अंकमा पुगेको छ भने अधिकांश बैंकको एनपीएल पाँच प्रतिशतभन्दा माथि देखिएको छ ।
प्रभु बैंकको खराब कर्जा सबैभन्दा उच्च १५.५५ प्रतिशत पुगेको छ । त्यस्तै एनआईसी एसियाको ९.२६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.६६ प्रतिशत, हिमालयन बैंकको ७.९६ प्रतिशत र कुमारी बैंकको ७.४६ प्रतिशत रहेको छ ।
बैंकिङ क्षेत्रमा खराब कर्जा बढ्नुको प्रमुख कारण अर्थतन्त्र अपेक्षित रूपमा चलायमान हुन नसक्नु रहेको विज्ञहरूको भनाइ छ । कोभिड–१९ पछिको आर्थिक सुस्तता, विभिन्न आन्दोलन तथा त्यसबाट भएको भौतिक क्षति र लगानीकर्तामा देखिएको कमजोर आत्मविश्वासले व्यवसायिक गतिविधिमा असर पारेको उनीहरूको तर्क छ ।
पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीका अनुसार बजारमा माग कमजोर हुँदा व्यवसायीहरू नयाँ उत्पादन तथा लगानीका लागि थप कर्जा लिन हिच्किचाइरहेका छन् । निक्षेपको ब्याजदर घटे पनि त्यसअनुसार उपभोक्ताको क्रयशक्ति र बजारको माग बढ्न नसक्दा व्यवसायीलाई ऋणको किस्ता तिर्नसमेत कठिन भएको उनको भनाइ छ ।
सहकारी क्षेत्रमा सर्वसाधारणको ठूलो रकम फसेका कारण पनि बजारमा नगद प्रवाह कमजोर भएको विज्ञहरू बताउँछन् । घरजग्गा कारोबारमा आएको मन्दीले समेत अर्थतन्त्रका धेरै क्षेत्र प्रभावित भएका छन् ।
घर तथा हाउजिङ निर्माण सुस्त हुँदा इँटा, ढुंगा, बालुवा, गिटी, रोडा, डन्डी, सिमेन्ट, प्लम्बिङ, विद्युतीय सामग्री, हार्डवेयर, काठ, झ्याल–ढोका तथा रङरोगनलगायतका व्यवसायमा असर परेको छ । उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा लगानी र रोजगारीमा समेत असर परेको व्यवसायीहरूको भनाइ छ ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले अर्थतन्त्र अझै पूर्ण रूपमा चलायमान हुन नसकेको बताएका छन् । बैंकर्सहरूका अनुसार बजारबाट कर्जा असुलीमा समस्या देखिएपछि एनपीएलसँगै कर्जा नोक्सानीबापतको प्रोभिजनिङ पनि बढेको छ ।
ग्लोबल आइएमई बैंकले मात्रै चार अर्ब ७२ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ । प्रोभिजनिङ बढ्दा बैंकको वितरणयोग्य नाफा र लाभांश क्षमता प्रभावित हुने गरेको बैंकर्सहरू बताउँछन् ।
वाणिज्य बैंकहरूमध्ये एभरेस्ट बैंकको खराब कर्जा सबैभन्दा कम ०.४९ प्रतिशत रहेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको २.०३ प्रतिशत, सानिमा बैंकको २.८७ प्रतिशत र नेपाल एसबीआई बैंकको २.९२ प्रतिशत खराब कर्जा छ ।
त्यस्तै प्राइम बैंकको ६.६९ प्रतिशत, सिटिजन्स बैंकको ५.८८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.२३ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.९६ प्रतिशत, नबिल बैंकको ४.१० प्रतिशत र नेपाल बैंकको ४.१८ प्रतिशत खराब कर्जा रहेको छ ।
पूर्वबैंकर परशुराम कुँवर क्षेत्रीका अनुसार अर्थतन्त्रको कमजोर अवस्थाले बैंकहरूको कर्जा असुली चुनौतीपूर्ण बनेको छ । खराब कर्जा बढेसँगै बैंकहरूले कर्जा नोक्सानी व्यवस्थाका लागि थप रकम छुट्याउनुपर्ने भएकाले नाफामा प्रत्यक्ष असर परेको उनको भनाइ छ ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माका अनुसार बैंकले ऋण पोर्टफोलियोको समीक्षा गर्दा सम्भावित जोखिमअनुसार थप प्रोभिजनिङ गर्नुपरेको हो । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले पनि बैंकहरू पछिल्लो समय कर्जा असुलीमा केन्द्रित हुन थालेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको औसत खराब कर्जा पनि पछिल्ला वर्षहरूमा निरन्तर बढेको छ । आर्थिक वर्ष २०७९/८० मा २.९८ प्रतिशत रहेको औसत एनपीएल २०८१ असारमा ३.७६ प्रतिशत पुगेको थियो । २०८२ चैतसम्म ५.४१ प्रतिशत पुगेको खराब कर्जा २०८३ असारमा ५.४३ प्रतिशत पुगेको छ ।
विकास बैंक र वित्त कम्पनीहरूमा समेत खराब कर्जाको अनुपात उच्च रहेको छ । बैंकिङ क्षेत्रको बढ्दो एनपीएलले समग्र वित्तीय प्रणालीमा कर्जा असुली, लगानी विस्तार र आर्थिक गतिविधि चलायमान बनाउने चुनौती थपिएको देखिएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्