काठमाडौं । रुसले आफ्ना सैन्य तथा औद्योगिक केन्द्रमा पछिल्लो समय भएका हमलामा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको दाबी गर्दै बेलायतलाई ‘परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको छ।
रुसस्थित बेलायती दूतावासले जारी गरेको विज्ञप्तिमा बेलायतले युक्रेन संकटलाई थप चर्काउन जानाजानी सहयोग गरिरहेको आरोप लगाइएको छ। रुसले युद्धमा बेलायतको संलग्नता बढ्दै गए त्यसको मूल्य पनि ठूलो हुँदै जाने चेतावनी दिएको हो।
युक्रेनले पछिल्लो समय मस्कोसहित रुसका विभिन्न क्षेत्रमा ड्रोनमार्फत आक्रमण तीव्र बनाएको छ। रुसी तेल प्रशोधन केन्द्र तथा प्रमुख अनलाइन खुद्रा विक्रेता वाइल्डबेरीजका लजिस्टिक्स केन्द्रसमेत युक्रेनी हमलाको निशानामा पर्दै आएका छन्।
बेलायतले भने युक्रेनप्रतिको आफ्नो समर्थन कायमै रहेको जनाएको छ। बेलायती रक्षा मन्त्रालयका एक प्रवक्ताले युक्रेनसँग बेलायत ‘काँधमा काँध मिलाएर’ उभिएको भन्दै युक्रेन र उसका साझेदारमाथि हुने रुसी आक्रमणको विरोधमा बेलायत दृढ रहेको बताएका छन्।
युक्रेनलाई ड्रोन प्रविधि तथा सैन्य सहयोग उपलब्ध गराएको विषयलाई लिएर रुसले यसअघि पनि बेलायतको आलोचना गर्दै आएको थियो। पछिल्लो चेतावनीमा भने रुसले बेलायतविरुद्ध कस्तो कदम चाल्ने हो भन्ने स्पष्ट गरेको छैन।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता बेलायत युक्रेनको प्रमुख अन्तर्राष्ट्रिय समर्थकमध्ये एक रहँदै आएको छ। बेलायतले युक्रेनलाई सैन्य तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्