कैलाली । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्। लगातार १० भन्दा बढी प्रदेशसभा बैठकमा बिना सूचना अनुपस्थित रहेको भन्दै प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेपछि उनको पद रिक्त भएको हो।
सभामुख भण्डारीले देउवाको पद रिक्त भएको जानकारी प्रदेशसभाको भोलि दिउँसो १ बजे बस्ने बैठकमा गराउने तयारी छ।
देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनलगत्तै व्यक्तिगत कामका लागि अमेरिका गएका थिए। त्यस क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अमेरिकामै बसेका उनी करिब ११ महिना बितिसक्दा पनि नेपाल फर्किएका छैनन्।
उपचारमा रहेको भन्दै सचिवालयलाई पत्र
छैटौँ अधिवेशनका क्रममा लगातार पाँच बैठकमा अनुपस्थित भएपछि देउवाले चैत २३ गते प्रदेशसभा सचिवालयलाई पत्र पठाएका थिए। सभामुखलाई सम्बोधन गरिएको पत्रमा उनले व्यक्तिगत कामका लागि अमेरिका पुगेपछि स्वास्थ्य समस्या देखिएको र चिकित्सकको सल्लाहअनुसार उपचार तथा आराममा रहनुपरेको जानकारी दिएका थिए।
स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धता उनले जनाएका थिए। तर, पत्र पठाएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि उनी नेपाल फर्किएका छैनन्। उनको उपचारको अवस्था र नेपाल फर्किने मितिबारे कांग्रेसका नेताहरूलाई समेत स्पष्ट जानकारी नभएको बताइएको छ।
नेपालको संविधानको धारा १८० को (घ) मा सभाको स्वीकृति नलिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ। सोही संवैधानिक व्यवस्थाअनुसार देउवाको पद रिक्त गरिएको हो। सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० मा पनि यससम्बन्धी व्यवस्था रहेको छ।
२७ बैठकमा अनुपस्थित
प्रदेशसभा सचिवालयका अनुसार छैटौँ अधिवेशनमा २५ वटा बैठक बसेकामा देउवा आठ बैठकमा मात्र उपस्थित भएका थिए। त्यसपछि सातौँ र आठौँ अधिवेशनका कुनै पनि बैठकमा उनी उपस्थित भएनन्।
पछिल्ला २७ वटा बैठकमा उनको उपस्थिति नरहेको सचिवालयको अभिलेखमा उल्लेख छ। सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म १२८ वटा बैठक बसेकामा देउवा ६० वटा बैठकमा मात्रै उपस्थित भएका छन्।
११ महिनामा साढे ७ लाखभन्दा बढी सुविधा
अमेरिकामा रहेका देउवाको खातामा प्रदेशसभा सचिवालयले नियमित रूपमा सेवा–सुविधाबापत रकम पठाउँदै आएको थियो। सचिवालयका अनुसार ११ महिनाको अवधिमा उनले ७ लाख ५३ हजार ५ सय रुपैयाँ बुझिसकेका छन्।
मासिक रूपमा पारिश्रमिक ५६ हजार ५ सय, धारा–बिजुली २ हजार, सञ्चार सुविधा ३ हजार र अतिथि सत्कारबापत ७ हजार गरी ६८ हजार ५ सय रुपैयाँ उनको खातामा जम्मा हुँदै आएको थियो। गत जेठमा निजी आवास मर्मत शीर्षकमा थप ३५ हजार रुपैयाँसमेत पठाइएको सचिवालयले जनाएको छ।
यसअघि माघमा उनी नेपालमा नरहेको भन्दै सचिवालयले सेवा–सुविधा रोक्का गरेको थियो। तर, कानुनअनुसार प्रदेशसभा सदस्यको पद कायम रहेसम्म सेवा–सुविधा रोक्न नमिल्ने भएपछि जेठमा चार महिनाको रकम एकमुस्ट भुक्तानी गरिएको थियो।
शेरबहादुर देउवाका भतिजा
प्रकाशबहादुर देउवा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका भतिजा हुन्। उनी कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
लामो समयदेखि निर्वाचित प्रतिनिधि सम्पर्कविहीन रहेको भन्दै उनको निर्वाचन क्षेत्रका मतदाताले समेत असन्तुष्टि जनाउँदै आएका थिए। अब भने संविधानमा रहेको व्यवस्थाअनुसार उनको प्रदेशसभा सदस्य पद नै रिक्त भएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्