पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान ७ बजे पाल्पा–बुटवल सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ पहिरो खसेको हो ।
प्रहरीका अनुसार पहिरोसँगै सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार सडक खुलाउन पहिरो पन्छाउने तयारी गरिएको छ । तर, माथिबाट निरन्तर पहिरो खसिरहेका कारण तत्काल काम सुरु गर्न नसकिएको प्रहरीले जनाएको छ ।
राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाडतर्फ जाने तथा पहाडबाट तराईतर्फ आउने सवारीसाधन बाटोमै रोकिएका छन् । सिद्धार्थ राजमार्ग पाल्पासहित गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङतर्फ आवतजावत गर्ने प्रमुख मार्ग हो ।
प्रहरीले पहिरो प्रभावित क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सडक खुल्ने अवस्था नआएसम्म यात्रु र चालकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
पहिरोको जोखिम अझै कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्