चितवन । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल वायुसेवा निगमको कर्मचारी नियमावलीमा रहेका उमेरहद तथा अन्य व्यवस्थाबारे जानकारी माग गरेको छ । निगमका कर्मचारी प्रजिता कार्की र अर्की एक विमान परिचारिकाले नियमावली विभेदकारी भएको भन्दै उजुरी दिएपछि आयोगले निगमसँग विवरण माग गरेको हो ।
उजुरीमा विमान परिचारिकालाई ४० वर्षको उमेरहद तोकी सेवाबाट हटाइएको उल्लेख छ । आयोगका सदस्य लिली थापाका अनुसार नियमावलीमा अन्य कर्मचारीका लागि ५८ वर्षको उमेरहद तोकिए पनि विमान परिचारिकाका लागि ४० वर्षको सीमा राखिएको पाइएको छ ।
आयोगको प्रारम्भिक अध्ययनमा विमान परिचारिकाको सेवा अवधि थप पाँच वर्ष बढाउन शारीरिक बनोट राम्रो हुनुपर्ने, अनुहारमा दाग हुन नहुनेलगायतका प्रावधानसमेत रहेको पाइएको थापाले बताइन् ।
उनका अनुसार यस्ता प्रावधान लैङ्गिक विभेदसँगै मानव अधिकारको गम्भीर उल्लङ्घनसँग सम्बन्धित हुन सक्ने देखिएकाले विषयमा थप अध्ययन आवश्यक परेको हो ।
निगमसँग कागजात माग
उजुरीका आधारमा प्रारम्भिक अध्ययन गर्दा नियमावलीका केही व्यवस्था विभेदपूर्ण देखिएपछि आयोगले निगमसँग कर्मचारी नियमावली तथा कर्मचारीसम्बन्धी व्यवस्थाबारे विस्तृत जानकारी र आवश्यक कागजात माग गरेको छ ।
सदस्य थापाले नियमावलीमा रहेका प्रावधानबारे थप स्पष्टता आएपछि मात्र उजुरीमा उठाइएका विषय पुष्टि गर्न सकिने बताइन् ।
आयोगले निगमको कर्मचारी व्यवस्थापन प्रणाली तथा सेवा–सर्तसम्बन्धी व्यवस्थामाथि समेत अध्ययन अघि बढाएको जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्