काठमाडौं । नेकपाका सहसंयोजक माधवकुमार नेपालले प्रमुख राजनीतिक दलहरू आन्तरिक संकटमा रहेको टिप्पणी गरेका छन् । उनले नेपाली कांग्रेस विभाजन हुने हो कि भन्ने अवस्था रहेको र एमालेभित्र पनि ‘बिजोग’ अवस्था देखिएको बताए ।
बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै नेपालले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका अहिले अझ महत्वपूर्ण रहेको दाबी गरे ।
उनले भने, ‘कांग्रेस पार्टी कतिखेर विभाजित हुने हो ठेगान छैन । एमाले पार्टीको के हुने हो ? ती हुल्याहाहरू, आवाराहरूले के–के गर्न थाले भनेर सुन्नमा आइरहेको छ । त्यहाँको पनि बिजोग छ । राप्रपा पार्टी पनि फुटिसकेको स्थितिमा पुगेको छ ।’
नेपालले मधेशकेन्द्रित दलहरू पनि आफ्नो अस्तित्व जोगाउन कठिन अवस्थामा पुगेको बताए ।
उनका अनुसार वर्तमान राजनीतिक परिस्थितिले नेकपाको काँधमा गम्भीर जिम्मेवारी थपिएको छ । पछिल्लो निर्वाचनमा पार्टीले अपेक्षित सिट जित्न नसके पनि राष्ट्रिय राजनीतिमा भूमिका खेल्ने अवस्था रहेको उनको भनाइ छ ।
‘यस पटकको चुनावमा हामीले धेरै सिट त जित्न सकेनौँ । शक्तिको हिसाबले चौथो नम्बरको शक्तिमा मात्रै हामी रह्यौँ । तर हाम्रो पार्टीका संयोजकले जित्नुभएको छ । संसद्मा उहाँले भूमिका खेल्न सक्नुहुन्छ,’ नेपालले भने ।
उनले राष्ट्रिय राजनीतिमा पनि नेकपाले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने बताए । प्रदेश सरकारमा सहभागी हुन आफूहरू इच्छुक नभए पनि परिस्थितिका कारण सरकारमा जानुपरेको उनको भनाइ थियो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्