काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक उथलपुथल धान्न नसक्ने बताएका छन्। अहिलेको राजनीतिक परिस्थितिमा फेरि अस्थिरता सिर्जना गर्ने वा नयाँ राजनीतिक प्रयोग गर्ने प्रयास नगर्न उनको आग्रह छ।
बिहीबार काठमाडौंमा आयोजित ‘दोलखाका लोकनायकहरू’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले देशलाई अहिले नयाँ राजनीतिक ‘एड्भेन्चर’ नभई स्थिरता, जिम्मेवार नेतृत्व र जनतासँग गरिएको प्रतिबद्धता पूरा गर्ने राजनीति आवश्यक रहेको बताए।
‘अहिलेको कम्तीमा कुनै नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुहोस्। अब नेपालले थेग्न सक्दैन,’ थापाले भने।
उनले जनताले दिएको जनादेशलाई सम्मान गर्दै वर्तमान सरकारलाई आफ्नो कार्यकाल पूरा गर्न दिनुपर्ने धारणा राखे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनताबाट निर्वाचित भएर सरकारको नेतृत्वमा आएको उल्लेख गर्दै थापाले उसलाई पाँच वर्ष काम गर्ने अवसर दिनुपर्ने बताए।
‘उहाँहरूलाई पाँच वर्ष काम गर्न दिऔँ’
सभापति थापाले लोकतान्त्रिक प्रतिस्पर्धामा जनताले दिएको म्यान्डेटलाई बीचमै अस्थिरता सिर्जना गरेर कमजोर पार्नु उचित नहुने बताए।
‘राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचित भएर आएको छ, पाँच वर्ष उहाँहरूले नेतृत्व गर्नुहुन्छ,’ उनले भने, ‘अर्को पाँच वर्षपछि चुनाव गर्ने, हामीले उहाँहरूभन्दा राम्रो गर्ने गरेर तयारी गरिरहेका हुन्छौँ।’
उनको भनाइले कांग्रेस तत्काल सत्ताको खेलमा लाग्नुभन्दा आगामी निर्वाचनका लागि आफूलाई बलियो विकल्पका रूपमा तयार पार्ने दिशामा केन्द्रित हुनुपर्ने संकेत गरेको छ।
थापाले सरकारलाई पनि विगतका राजनीतिक दलहरूले गरेका गल्तीबाट पाठ सिक्न आग्रह गरे। नयाँ राजनीतिक शक्ति भन्दैमा पुराना दलहरूले भोगेका समस्या र असफलता दोहोरिन नहुने उनको भनाइ थियो।
बहुमत मात्र पर्याप्त हुँदैन
थापाले राजनीतिक शक्तिले संसद्मा ठूलो संख्या प्राप्त गर्दैमा उसको राजनीतिक आधार सधैं सुरक्षित रहने भ्रममा पर्न नहुने बताए।
विगतमा नेपाली कांग्रेस र नेकपा एमालेले समेत आफूहरूसँग रहेको बहुमत र जनादेशलाई पर्याप्त ठान्दै जनताको असन्तुष्टि बेवास्ता गरेको उनको भनाइ थियो। संसद्मा दुईतिहाइ वा ठूलो बहुमत भए पनि जनसमर्थन, विश्वास र नैतिक वैधता गुमेपछि राजनीतिक शक्ति कमजोर बन्न सक्ने उनले बताए।
उनले सरकारलाई मत दिने र मत नदिने दुवैथरी नागरिकको विश्वास जित्ने गरी काम गर्न सुझाव दिए। लोकतन्त्रमा निर्वाचन जित्नु मात्र पर्याप्त नहुने र निरन्तर जनविश्वास कायम राख्नु नेतृत्वको प्रमुख चुनौती हुने उनको भनाइ थियो।
‘संसद् सांसदले जे मन लाग्यो त्यही बोल्ने ठाउँ होइन’
थापाले प्रतिनिधिसभाको पछिल्लो गतिविधिप्रति पनि असन्तुष्टि जनाए। केही सांसदमा निर्वाचन जितेपछि आफूले जे बोले पनि हुने र जे गरे पनि हुनेजस्तो मानसिकता देखिएको टिप्पणी गर्दै उनले संसदीय मर्यादा र गरिमाप्रति गम्भीर हुन आग्रह गरे।
‘यसो संसद्तिर हेर्छु, त्यो प्रत्येक जितिसकेको सांसदलाई फुली लगाएजस्तो लागेको छ,’ उनले भने, ‘मैले जे बोले पनि हुन्छ। मैले जे फुके पनि हुन्छ। यो संसद हो यो? संसदको गरिमा हुन्न? संसदको मर्यादा हुन्न?’
थापाले संसद् केवल राजनीतिक आरोप–प्रत्यारोप वा व्यक्तिगत प्रदर्शनको मञ्च नभएको संकेत गर्दै निर्वाचित प्रतिनिधिहरूले आफ्नो अभिव्यक्ति, व्यवहार र जिम्मेवारीमा गम्भीरता देखाउनुपर्ने बताए।
उनको सम्बोधनको मूल सन्देश राजनीतिक स्थिरता, जनादेशको सम्मान र जिम्मेवार लोकतान्त्रिक अभ्यासमा केन्द्रित देखिन्छ। सत्ता परिवर्तन र राजनीतिक समीकरणको निरन्तर खेलभन्दा अहिलेको सरकारलाई काम गर्ने अवसर दिनुपर्ने र विपक्षी दलले आगामी निर्वाचनमा अझ राम्रो विकल्प प्रस्तुत गर्ने तयारी गर्नुपर्ने थापाको धारणा थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्