काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। यसपटक भने उनी खुला प्रतिस्पर्धामार्फत सो पदमा पुनः नियुक्त भएका हुन्।
कार्कीले नेपाल राष्ट्र बैंकमा करिब ३० वर्ष सेवा गरेका थिए। राष्ट्र बैंकमा कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालेका उनी त्यही पदबाट सेवा निवृत्त भएका हुन्।
राष्ट्र बैंकमा रहँदा उनले केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता तथा वित्तीय बजार विश्लेषणलगायतका क्षेत्रमा काम गरेका थिए। राष्ट्र बैंकबाट अवकाश लिएपछि उनले ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा चार वर्ष जिम्मेवारी सम्हालेका थिए।
शैक्षिक रूपमा कार्कीले त्रिभुवन विश्वविद्यालय तथा अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्। उनले केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायत विषयमा विभिन्न अन्तर्राष्ट्रिय तालिमसमेत लिएका छन्।
प्रतिस्पर्धाबाट नियुक्ति
नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जनाको नाम सर्टलिस्टमा परेको थियो। प्रतिस्पर्धात्मक प्रक्रियापछि कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय भएको हो।
कार्कीको लामो बैंकिङ तथा वित्तीय क्षेत्रको अनुभव र यसअघि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेको अनुभवलाई उनको नियुक्तिको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्