काठमाडौं । राइड सेयरिङका राइडरहरूले उचित भाडादर र प्रतिकिलोमिटर आम्दानी सुनिश्चित गर्नुपर्ने माग उठाइरहेका बेला पठाओ नेपालले राइडरको उचित आम्दानीको मागप्रति सकारात्मक रहेको जनाएको छ।
राइडरहरूले न्यूनतम २५ रुपैयाँ प्रतिकिलोमिटर भाडा कायम गर्नुपर्ने माग गर्दै आएका छन्। पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले राइडरले आफ्नो श्रम, समय, लगानी र जोखिमको उचित मूल्य पाउनुपर्ने बताएका छन्।
उनका अनुसार राइडरको आर्थिक सुरक्षा र ग्राहकले पाउने सुरक्षित तथा भरपर्दो सेवा एकअर्कासँग जोडिएका विषय हुन्।
पठाओले आफ्नो हालको भाडा संरचना ठ्याक्कै २५ रुपैयाँ प्रतिकिलोमिटरमा आधारित नभए पनि विभिन्न दूरीका सामान्य राइडको औसत प्रभावकारी भाडा करिब २५ रुपैयाँ प्रतिकिलोमिटर आसपास पर्ने जनाएको छ।
बेस फेयरदेखि प्रतिमिनेट शुल्कसम्म
पठाओका अनुसार कम्पनीको भाडा संरचनामा बेस फेयर, प्रतिकिलोमिटर भाडा र प्रतिमिनेट शुल्क समावेश छन्।
इन्धनको मूल्य, महँगी, सवारीसाधनको मर्मतसम्भार तथा अन्य सञ्चालन खर्चलाई आधार बनाएर आवश्यकताअनुसार भाडा समायोजन गर्दै आएको कम्पनीले जनाएको छ।
कम्पनीले राइडरको आम्दानीलाई दिगो र न्यायोचित बनाउने विषयलाई आफ्नो सञ्चालनसँग जोडेर हेर्ने जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्