काठमाडौं । संसदीय सुनुवाइ समितिमा सेना तथा सुरक्षासँग सम्बन्धित गम्भीर प्रकृतिको उजुरी परेको छ। समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले उक्त उजुरी आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो।
बैठकपछि निर्णय सार्वजनिक गर्दै समितिका सभापति वोधनारायण श्रेष्ठले सुरक्षासँग सम्बन्धित उजुरी प्राप्त भएको जानकारी दिए। उजुरी रक्षा मन्त्रालय वा गृह मन्त्रालयमध्ये कुनसँग सम्बन्धित हो भन्ने विषयमा अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउन समितिको सचिवालयलाई जिम्मेवारी दिइएको उनले बताए।
सभापति श्रेष्ठका अनुसार उजुरीमा उल्लेखित विषय विस्तृत रूपमा सार्वजनिक गरिएको छैन। समितिमा प्राप्त अन्य उजुरी तथा प्रस्तावित व्यक्तिको सुनुवाइका क्रममा उठेका प्रश्नबारे पनि बैठकमा छलफल भएको थियो।
सुनुवाइका सूचना रेकर्डबाट लिन सकिने
प्रस्तावित व्यक्तिको सुनुवाइका क्रममा माग गरिएका सूचनाका सम्बन्धमा पनि समितिले स्पष्ट पारेको छ। सुनुवाइ प्रक्रिया प्रत्यक्ष प्रसारण तथा रेकर्ड हुने भएकाले सम्बन्धित व्यक्तिले आवश्यक जानकारी रेकर्डबाटै लिन सक्ने समितिको निष्कर्ष छ।
समिति सदस्यहरूले गर्ने व्यक्तिगत अध्ययनको विषय निजी भएकाले त्यसको विवरण सार्वजनिक गरिरहन आवश्यक नरहेको सभापति श्रेष्ठले बताए। सूचनाको हकसँग सम्बन्धित विषयमा भने प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाइने उनले स्पष्ट पारे।
अभिमुखीकरण कार्यक्रमको तयारी
बैठकले भदौ १८ र १९ गते समिति सदस्यका लागि आयोजना हुने अभिमुखीकरण कार्यक्रमको स्थान र विषयवस्तु तय गर्ने जिम्मेवारी सचिवालयलाई दिएको छ।
सेना तथा सुरक्षासँग सम्बन्धित उजुरीको प्रकृति सार्वजनिक नगरिए पनि समितिले सम्बन्धित मन्त्रालयमार्फत आवश्यक अध्ययन र कारबाही अघि बढाउने भएको छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्