काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गरेको घिउ पहिलोपटक दुबई निर्यात गर्न थालेको छ। दुबईमा रहेका नेपालीलाई लक्षित गर्दै शुक्रबारदेखि घिउ निर्यात सुरु गरिएको हो।
डीडीसीले पहिलोपटक ६ सय किलो घिउ जहाजमार्फत दुबई पठाएको जनाएको छ। दुबईमा घिउ निर्यातका लागि डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ।
डीडीसीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेका अनुसार सुरुमा दुबईमा परीक्षणका रूपमा घिउ बिक्री गरिनेछ। त्यहाँको माग र बजारको अवस्था हेरेर आगामी दिनमा निर्यातको परिमाण बढाइनेछ।
उनका अनुसार सुरुवाती चरणमा दुबईका बिक्रेतामार्फत सीमित परिमाणमा घिउ उपलब्ध गराइनेछ। बजारमा माग बढेपछि थप परिमाणमा निर्यात गरिनेछ।
नेपाली उत्पादनको प्रचारका लागि पहिलो खेप जहाजमार्फत पठाइएको भए पनि आगामी दिनमा भारत हुँदै कन्टेनरमार्फत दुबई पठाउने तयारी डीडीसीको छ।
डीडीसीले दुबईसँगै मध्यपूर्वका अन्य देशमा पनि घिउलगायत आफ्ना दुग्धजन्य उत्पादन निर्यात तथा बिक्री विस्तार गर्ने तयारी गरेको घिमिरेले बताए।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्