काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने तयारी गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा उक्त डिजिटल पत्रिका प्रकाशन गर्ने विषय औपचारिक एजेन्डाका रूपमा प्रस्तुत गरिएको हो।
पार्टीले ‘स्वतन्त्र’लाई रास्वपाको मुखपत्रका रूपमा विकास गर्ने तयारी गरेको छ। बैठकमा केन्द्रीय समिति सदस्यहरूले पत्रिकाको उद्देश्य, स्वरूप, सामग्री र सञ्चालनसम्बन्धी विषयमा धारणा राखिरहेका छन्।
बैठकको अर्को महत्वपूर्ण एजेन्डा भने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा–२०८३ अनुमोदन गर्नु रहेको छ। आगामी स्थानीय चुनावलाई लक्षित गर्दै पार्टीले उम्मेदवार छनोटको प्रक्रिया र मापदण्डलाई औपचारिक रूप दिने तयारी गरेको हो।
केन्द्रीय समिति बैठकमा के–के छन् एजेन्डा?
रास्वपाको केन्द्रीय समिति बैठकमा दस्तावेज, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम, अभियान तथा विविध विषयमा छलफल भइरहेको छ।
बैठकमा विशेषगरी—
- ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने,
- स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३ अनुमोदन गर्ने,
- केन्द्रीय समिति सदस्य मनोनयन गर्ने,
- सचिवालय सदस्य मनोनयन गर्ने,
- विभागीय प्रमुखहरूको मनोनयन गर्ने,
- स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गर्ने,
लगायतका विषय एजेन्डामा समावेश छन्।
स्थानीय तहसम्म उम्मेदवार छनोट प्रशिक्षण
रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई स्थानीय तहसम्म व्यवस्थित बनाउन केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यहरूको नेतृत्वमा अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल गर्ने भएको छ।
यससँगै रास्वपाले एकातिर पार्टीको विचार, गतिविधि र नीतिगत धारणा सार्वजनिक गर्न आफ्नै डिजिटल मुखपत्र सञ्चालन गर्ने तयारी गरेको छ भने अर्कोतिर स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको संगठनात्मक संरचना पनि निर्माण गर्न लागेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्