काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमै नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा बढेको छ। आयात र निर्यात दुवैमा उच्च वृद्धि देखिए पनि आयातको आकार ठूलो रहँदा व्यापार घाटासमेत बढेको छ।
भन्सार विभागका अनुसार साउन महिनामा नेपालले एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही महिनामा एक खर्ब ४३ अर्ब ४० करोड ६९ लाख रुपैयाँ बराबरको आयात भएको थियो। यसअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा आयात ३१.०४ प्रतिशतले वृद्धि भएको छ।
निर्याततर्फ भने वृद्धि अझ उच्च देखिएको छ। अघिल्लो आर्थिक वर्षको साउनमा २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यस वर्ष साउनमा निर्यात बढेर ३८ अर्ब ७० करोड ४४ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ६१.७२ प्रतिशतको वृद्धि हो।
निर्यात बढे पनि व्यापार घाटा चुलियो
निर्यातको वृद्धिदर आयातको तुलनामा दोब्बरभन्दा बढी भए पनि नेपालको आयात–निर्यातबीचको ठूलो अन्तर कायमै रहेको छ।
साउन महिनामा नेपालको व्यापार घाटा एक खर्ब ४८ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही महिनामा व्यापार घाटा एक खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ रहेको थियो।
यस वर्ष व्यापार घाटा २४.८८ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ।
कुल वैदेशिक व्यापार साढे ३५ प्रतिशतले बढ्यो
आयात र निर्यात जोड्दा चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको कुल वैदेशिक व्यापार दुई खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको साउनमा कुल वैदेशिक व्यापार एक खर्ब ६६ अर्ब ९७ करोड १० लाख रुपैयाँ रहेको थियो। यस वर्ष कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले वृद्धि भएको छ।
यद्यपि, व्यापार संरचनामा निर्यातको हिस्सा केही सुधारिएको देखिएको छ। अघिल्लो वर्ष साउनमा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १४.३३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको पहिलो महिनामा बढेर १७.११ प्रतिशत पुगेको छ।
यसले निर्यातमा सकारात्मक सुधारको संकेत गरे पनि नेपालको वैदेशिक व्यापार अझै पनि आयातमुखी रहेको स्पष्ट देखिन्छ। निर्यातमा भएको तीव्र वृद्धिले अर्थतन्त्रलाई केही राहत दिने संकेत गरे पनि बढ्दो आयातसँगै व्यापार घाटा पनि विस्तार भइरहेकाले यसलाई दीर्घकालीन रूपमा कसरी सन्तुलनमा ल्याउने भन्ने चुनौती कायमै छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्