काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५० वर्षे यात्राको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।
भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने अटो शोमा २३ वटा चारपाङ्ग्रे, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी र १३ वटा दुईपाङ्ग्रे ब्रान्ड सहभागी हुने आयोजकले जनाएको छ।
करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। सवारीसाधनसँगै पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार र ग्यारेज उपकरणसँग सम्बन्धित करिब ७० कम्पनीको सहभागिता रहनेछ।
त्यस्तै, १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनी पनि प्रदर्शनीमा सहभागी हुनेछन्।
पाँच दशकमा ५५ लाख सवारी दर्ता
नाडाका अनुसार नेपालमा हालसम्म करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन्। पछिल्ला पाँच आर्थिक वर्षमा मात्रै नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात गरेको छ। यसबाट राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको नाडाले जनाएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले १८औँ संस्करणलाई संस्थाको मात्रै नभई समग्र नेपाली अटोमोबाइल उद्योगको पाँच दशक लामो यात्राको उत्सवका रूपमा चित्रण गरे।
उनका अनुसार पाँच दशकको अवधिमा अटोमोबाइल क्षेत्रले हासिल गरेको उपलब्धि, उद्योगले व्यहोरेका चुनौती र आगामी सम्भावनालाई पनि यस वर्षको प्रदर्शनीले प्रतिबिम्बित गर्नेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्