काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले संस्थापनइतर समूहबाट पार्टी सभापतिको नेमप्लेट तथा पार्टीको लेटरप्याड अनधिकृत रूपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अनुशासन समितिको बैठकले संस्थापनइतर समूहका गतिविधिबारे छलफल गर्दै पार्टीको आधिकारिक पहिचान र दस्तावेजको प्रयोगमा सावधानी अपनाउनुपर्ने निष्कर्ष निकालेको हो।
समितिका संयोजक तारामान गुरुङका अनुसार संस्थापनइतर समूहको कार्यालयमा पार्टी सभापतिको नेमप्लेट राखिनुका साथै पार्टीको लेटरप्याडसमेत प्रयोग गरिएको विषय समितिको ध्यानमा आएको छ। पार्टीका नेता तथा कार्यकर्ताको प्रतिष्ठामा आँच पुग्ने गरी आरोप–प्रत्यारोप र आपत्तिजनक शब्द प्रयोग गरिएको विषयमा समेत समितिले विवरण तथा प्रमाण संकलन गरिरहेको उनले बताए।
७५४ निवेदनमाथि छानबिन
निर्वाचनका क्रममा भएका भनिएका अनुशासनहीन गतिविधिसम्बन्धी ७५४ वटा निवेदन समितिमा प्राप्त भएको गुरुङले जानकारी दिए। ती निवेदनमाथि छानबिन भइरहेको र महाधिवेशनको प्रक्रिया अघि बढिसकेकाले वडा अधिवेशन सुरु हुनुअघि नै आवश्यक निर्णय लिने तयारी रहेको उनले बताए।
समितिले अनुशासन उल्लंघनका घटनामा संलग्न देखिएका नेता तथा कार्यकर्तामाथि प्राप्त प्रमाण र विवरणका आधारमा आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।
असोजमा कांग्रेस महाधिवेशन
कांग्रेसले आगामी केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेभित्र सम्पन्न गर्ने गरी तयारी अघि बढाएको छ। महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला पार्टीभित्र देखिएका विवाद र अनुशासनसम्बन्धी उजुरीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय कांग्रेसका लागि थप चुनौतीपूर्ण बनेको छ।
अनुशासन समितिको पछिल्लो सक्रियताले संस्थापन र संस्थापनइतर समूहबीचको विवाद महाधिवेशनको प्रक्रियासँगै थप पेचिलो बन्न सक्ने संकेतसमेत देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्