काठमाडौँ । राष्ट्रिय सभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले सरकारले सुशासन र समृद्धिको नारा अघि सारे पनि व्यवहारमा जनताले राहतभन्दा बढी सास्ती भोग्नुपरेको दाबी गरे। निर्वाचनका बेला नयाँ शक्ति र वर्तमान सरकारले गरेका प्रतिबद्धता प्रचारबाजीमा मात्र सीमित भएको उनको टिप्पणी थियो।
उनले सरकारको कार्यकालमा मानवअधिकार र संविधानविपरीतका घटना बढेको आरोप लगाउँदै सुकुम्बासीको मृत्यु, युवाहरूको आत्मदाह तथा विस्थापनका घटनालाई सरकारको ‘नयाँ सुशासन’माथि प्रश्न उठाउने उदाहरणका रूपमा प्रस्तुत गरे।
विश्वकर्माले भने, ‘बजेट निर्माणदेखि जनताको उठिबाससम्म जनताले के पाए? पुरानाले दिन नसकेको भनिएको नयाँ सुशासन यही हो? जनताको उठिबास, दाउरे युगतर्फको यात्रा, ११ जना सुकुम्बासीको मृत्यु र आत्महत्या, पाँच जना युवाको आत्मदाह तथा संविधान, मानवअधिकार र अन्तर्राष्ट्रिय महासन्धिको उल्लङ्घन—के यही नयाँ सुशासन हो?’
अर्थतन्त्र र सेयर बजारमाथि प्रश्न
सरकारको आर्थिक नीति र व्यवस्थापनमाथि पनि प्रश्न उठाउँदै उनले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको दाबी गरे। विशेषगरी सेयर बजारको अवस्था, लगानीकर्तामा देखिएको विश्वासको संकट तथा सम्भावित पुँजी पलायनले रोजगारी र राजस्वमा समेत नकारात्मक असर पार्न सक्ने उनको भनाइ थियो।
उनले सरकार लगानीकर्ताको विश्वास कायम गर्न असफल भएको आरोप लगाउँदै अर्थतन्त्रको समग्र अवस्थाप्रति गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए।
‘सरकार जनताप्रति होइन, अरू कसैप्रति उत्तरदायी’
सांसद विश्वकर्माले सरकार सदन र जनताप्रति उत्तरदायी हुनुपर्नेमा कुनै निश्चित शक्तिप्रति उत्तरदायी भएको जस्तो देखिएको आरोप लगाए।
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति नसच्चाइएको, राहदानी छपाइदेखि कर्मचारीको सरुवा–बढुवा र पदस्थापनसम्मका निर्णय विवादमा परेको तथा नेपाल वायुसेवा निगममा योग्यताभन्दा पहुँच र चाकडीलाई प्राथमिकता दिइएको आरोप उनले लगाए।
उनले भने, ‘सरकार सदन र जनताप्रति उत्तरदायी हुनुपर्नेमा कुनै प्रभुप्रति उत्तरदायी भएको जस्तो देखिन्छ।’
सरकार र मन्त्रीहरूले गरेका केही निर्णय सर्वोच्च अदालतबाट बदर वा उल्टिनुलाई पनि उनले सरकारको कार्यसम्पादनमाथि प्रश्न उठ्ने विषयका रूपमा प्रस्तुत गरे।
प्रधानमन्त्रीको कार्यशैलीमाथि पनि आलोचना
प्रधानमन्त्रीको कार्यशैलीप्रति आपत्ति जनाउँदै सांसद विश्वकर्माले देश प्रधानमन्त्री र उनको सचिवालयको सामाजिक सञ्जालमा गरिने ‘स्ट्याटस’का आधारमा चलेको जस्तो देखिएको टिप्पणी गरे।
प्रधानमन्त्रीले आफ्ना विवादास्पद अभिव्यक्ति सच्याउन नचाहनुले सरकारको नियत र जवाफदेहितामाथि थप प्रश्न उठेको उनको भनाइ थियो। उनले वर्तमान अवस्थामा सरकार मात्र नभई प्रधानमन्त्री स्वयं पनि जनअपेक्षा पूरा गर्न असफल भएको दाबी गरे।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्