काठमाडौँ । जुम्लाको हाट सिञ्जामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ। नेपाली भाषा (खस भाषा) को उद्गमस्थलका रूपमा परिचित कनकासुन्दरी गाउँपालिकाको गुठीज्युला बजार क्षेत्रमा आजदेखि फोर–जी सेवा सुरु भएको हो।
नेपाल टेलिकम जुम्ला कार्यालयका प्रमुख पारस पुजाराका अनुसार नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो। टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोर–जी सेवा उपलब्ध हुनेछ।
टेलिकमका अनुसार गौरी, ओखरवाडा, हाट सिञ्जा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गाललगायत क्षेत्रमा सेवा पुग्नेछ।
राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण टावर सञ्चालनमा ढिलाइ भएको थियो। अहिले सोलार ब्याट्रीमार्फत टावर सञ्चालनमा ल्याइएको हो। टावर स्थापना भएको दुई महिनाभन्दा बढी समयपछि सेवा सञ्चालनमा आएको कार्यालय प्रमुख पुजाराले जानकारी दिए।
दुर्गम क्षेत्रमा फोर–जी विस्तार
नेपाल टेलिकमले दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिएको जनाएको छ। सोही योजनाअनुसार बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा पनि यसै हप्ताभित्र फोर–जी सेवा सञ्चालन गर्ने तयारी छ।
सगरमाथा आधार शिविर क्षेत्रमा फोर–जी सेवा विस्तारका लागि समेत अध्ययन भइरहेको टेलिकमले जनाएको छ। यसअघि डोल्पाको ल्हान, दुनै तथा ताप्लेजुङको ओलाङचुङगोलालगायत उच्च हिमाली क्षेत्रमा फोर–जी सेवा सञ्चालनमा ल्याइसकिएको छ।
१ हजार ६०० नयाँ टावर निर्माणको तयारी
सरकारले सञ्चार सेवाको पहुँच कमजोर रहेका दुर्गम क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको छ। डिजिटल विभाजन घटाउँदै गुणस्तरीय सञ्चार सेवा पुर्याउने उद्देश्यले देशभर करिब १ हजार ६०० नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ।
ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्