काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रका विमतिलाई सडक वा अदालतमा लैजान नहुने बताएका छन् । पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औँ महाधिवेशनसँग सम्बन्धित गतिविधि रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिने तयारी गरिरहेका बेला पौडेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले पार्टीभित्रको विवाद राजनीतिक संवादबाटै समाधान गर्नुपर्ने बताएका छन् ।
‘हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन,’ उनले लेखेका छन्, ‘मलाई लाग्छ, नेपाली कांग्रेसको विवाद अदालतले निरुपण गर्ने विषय होइन र हुनुहुँदैन । राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ ।’
सानेपामा आएर संवाद गर्न आग्रह
महामन्त्री पौडेलले पार्टीभित्र असन्तुष्ट नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई पार्टी कार्यालय सानेपामा आएर आफ्ना फरक मत राख्न आग्रह गरेका छन् ।
‘म सबै असन्तुष्ट श्रद्धेय नेता, जुझारु कार्यकर्ता र आत्मीय शुभेच्छुक साथीहरूलाई नम्रताका साथ अनुरोध गर्न चाहन्छु कि आफ्नो फरक विचारलाई बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस्,’ उनले भनेका छन्, ‘यो तपाईं–हामीले निर्माण गरेको लोकतन्त्रको पवित्र मन्दिर हो ।’
उनले विगतका कमजोरीको समीक्षा गर्दै पार्टीलाई अघि बढाउन सबैले सामूहिक जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
‘सानेपामा बसेर मनैदेखि संवाद गरौँ । विगतका कमजोरीहरूमा हामी सबैको सामूहिक जिम्मेवारी छ, त्यसलाई पनि आत्मसात् गर्दै अघि बढौँ,’ पौडेलले भनेका छन् ।
तोकिएकै समयमा महाधिवेशन गर्न जोड
पौडेलले नेपाली कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । उनले महाधिवेशनबाट आम कार्यकर्ताले सुम्पिएको नेतृत्वलाई स्वीकार गर्दै पार्टीलाई एकताबद्ध भएर अघि बढाउन आग्रह गरेका छन् ।
‘आगामी १५औँ महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गरी आम कार्यकर्ताले सुम्पिने नेतृत्वलाई स्वीकार गरौँ र लोकतन्त्रलाई थप सुदृढ बनाउने बाटोमा एकजुट भएर लागौँ,’ उनले भनेका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्