काठमाडौं । जापानिज इन्सेफलाइटिसबाट सप्तरी र कैलालीमा चार जनाको मृत्यु भएको छ । सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सप्तरीमा दुई र कैलालीमा दुई जनाको मृत्यु भएको हो ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार रामको जापानिज इन्सेफलाइटिसका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका स्वास्थ्य अधिकृत सतिश यादवले जानकारी दिए ।
दुवैको गत साउन २१ गते उपचारका क्रममा मृत्यु भएको हो । यादवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र रामको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य अधिकृत यादवले बताए ।
यस्तै, कैलालीको घोडाघोडी नगरपालिकामा पनि जापानिज इन्सेफलाइटिस संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । घोडाघोडी–४ र ९ का उनीहरूको उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराले जानकारी दिए ।
मृत्यु हुनेमा ३४ र ७० वर्षीया महिला रहेको जनाइएको छ ।
जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो । विज्ञहरूका अनुसार सुँगुर र हाँसजस्ता जनावर तथा चराचुरुङ्गीबाट लामखुट्टेमा भाइरस सरेपछि मानिसमा संक्रमण फैलिन सक्छ । संक्रमण रोकथामका लागि लामखुट्टेको टोकाइबाट बच्ने तथा सरसफाइमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिँदै आएका छन् ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्