रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रालयको भागबन्डाका विषयमा सत्तारुढ नेकपाभित्र सहमति जुट्न नसक्दा शुक्रबारका लागि तय गरिएको मन्त्रीहरूको शपथ रोकिएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार नेकपालाई मन्त्रीको नाम उपलब्ध गराउन बिहीबार १२ बजेसम्मको समय दिएका थिए । तर, पार्टीभित्र आकांक्षी व्यवस्थापन र मन्त्रालयको भागबन्डामा सहमति जुट्न नसकेपछि नाम टुंगो लाग्न सकेन ।
मुख्यमन्त्री कार्यालयका अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले अब सोमबार मात्रै नयाँ मन्त्रीहरूको शपथको सम्भावना छ । मुख्यमन्त्रीका स्वकीय सचिव प्रदीप नेपालीले नेकपालाई बिहीबार अपराह्नसम्म मन्त्रीको नाम पठाउन आग्रह गरिएको बताए ।
उनका अनुसार नेकपाबाट नामावली प्राप्त नभएकाले शुक्रबारका लागि शपथग्रहण कार्यक्रम नहुने भएको हो । नाम प्राप्त भएपछि मात्रै शपथको समय निर्धारण गरिनेछ ।
तीन मन्त्रालयमा धेरै आकांक्षी
लुम्बिनी प्रदेशमा नेकपाका १३ जना सांसद छन् । तीमध्ये साबिक माओवादी केन्द्रका ९, नागरिक उन्मुक्ति पार्टीका ३ र नेकपा एकीकृत समाजवादी–नयाँ शक्ति नेपालबाट १ जना छन् । एक जना सभामुख र अर्का सांसद विदेश भ्रमणमा रहेकाले मन्त्री बन्ने आकांक्षीको संख्या सीमित भए पनि अधिकांशले दाबी गरेका छन् ।
नेकपाभित्र प्रमुख सचेतक इन्द्रजित थारू, रोल्पाबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएर पार्टी प्रवेश गरेका दीपेन्द्र पुन ‘सिजल’, बर्दियाकी कृष्णकुश्मा थारू, पूर्वमन्त्री भगवती अधिकारी, गुल्मीका यमबहादुर सार्की र राजकुमार चौधरीलगायतको नाम मन्त्रीका लागि चर्चामा छ ।
भगवती अधिकारीको नामले बढायो विवाद
दलका नेता जोखबहादुर महराले प्रमुख सचेतक इन्द्रजित थारूलाई सरकारमा पठाउन चाहेका छन् । तर, पार्टीभित्रकै अर्को समूहले थारूलाई पुनः मन्त्री बनाउन नहुने भन्दै दबाब दिएको छ ।
साविक नेकपा एकीकृत समाजवादीबाट नेकपामा समाहित भएकी पूर्वमन्त्री भगवती अधिकारीलाई मन्त्री बनाउन नेता मेटमणि चौधरीले जोड दिएका छन् । नाउपाबाट समाहित भएका राजकुमार चौधरीलाई पनि मन्त्री बनाउनुपर्ने पक्षमा नेताहरू छन् ।
यसअघि प्रदेश तहमा इन्द्रजित थारू, दीपेन्द्र पुन र कृष्णकुश्मा थारूलाई मन्त्री बनाउने तयारी भएको थियो । तर भगवती अधिकारीसहित अन्य आकांक्षीको नाम थपिएपछि सहमति जटिल बनेको हो ।
तीन मन्त्रालयमा भागबन्डा
एमाले, नेकपा, जसपा नेपाल र जनमोर्चा सम्मिलित गठबन्धनमा लुम्बिनीका ९ मन्त्रालयमध्ये नेकपाले तीन मन्त्रालय पाउने सहमति भएको बताइएको छ ।
हाल आर्थिक मामिला, सहरी विकास तथा उद्योग र वन तथा पर्यटन मन्त्रालय रिक्त छन् । नेकपाले सामाजिक विकास मन्त्रालयमा समेत दाबी गरेको छ । तर, जसपा नेपालबाट यसअघि मन्त्री बनेका सन्तोष पाण्डेयले उक्त मन्त्रालयमा आफ्नो दाबी नछाडेपछि भागबन्डा थप पेचिलो बनेको हो ।
नेकपाले मुख्यमन्त्रीले विश्वासको मत लिएको दिन अर्थ र सहरी विकाससहित तीन मन्त्रालय दिने मौखिक सहमति भएको दाबी गर्दै आएको छ ।
देउखुरीमा छलफल जारी
मन्त्रीको नाम टुंगो लगाउन नेकपाका प्रदेश इन्चार्ज चन्द्रप्रकाश खनाल ‘बलदेव’, नेता मेटमणि चौधरी र संसदीय दलका नेता जोखबहादुर महराले देउखुरीमा लगातार छलफल गरिरहेका छन् ।
एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मासहित मुख्यमन्त्री आचार्य, नेकपा र जसपाका नेताहरूबीच पनि पटक–पटक छलफल भएको छ ।
एमाले सचिव विश्वकर्माले नेकपाभित्र केही विषयमा छलफल बाँकी रहेकाले बिहीबार मन्त्रीको नाम टुंगो लाग्न नसकेको बताए । उनका अनुसार सत्तारुढ दलहरूबीचको समझदारीका विषयमा छलफल जारी रहेकाले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।
भदौ १ गते विश्वासको मत लिएका मुख्यमन्त्री आचार्यले शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए । तर नेकपाभित्रको विवादका कारण शपथ रोकिएपछि अब सोमबारतिर मात्रै नयाँ मन्त्रीहरूको शपथ हुने सम्भावना देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्