काठमाडौं । छालाको क्यान्सर मेलानोमा शल्यक्रियापछि पुनः दोहोरिने जोखिम घटाउन विकास गरिएको व्यक्तिगत क्यान्सर खोपले क्लिनिकल ट्रायलमा उत्साहजनक नतिजा देखाएको छ ।
मर्क र मोदर्नाले विकास गरेको ‘इन्टिस्मेरन’ नामक खोपलाई क्यान्सर उपचारमा प्रयोग हुँदै आएको इम्युनोथेरापी औषधि किट्रुडासँग संयोजन गरेर दिँदा बिरामीहरू लामो समयसम्म क्यान्सरमुक्त रहने प्रारम्भिक नतिजाले देखाएको हो ।
उच्च जोखिमयुक्त मेलानोमा भएका एक हजारभन्दा बढी बिरामी सहभागी तेस्रो चरणको क्लिनिकल ट्रायलमा खोप र किट्रुडाको संयोजनले किट्रुडा मात्र प्रयोग गरिएको उपचारको तुलनामा क्यान्सर पुनः देखा पर्ने तथा शरीरका अन्य भागमा फैलिने जोखिम घटाएको कम्पनीहरूले बताएका छन् ।
ट्रायलमा स्टेज २, ३ र ४ का उच्च जोखिमयुक्त मेलानोमा भएका बिरामी सहभागी थिए । उनीहरूको ट्युमर शल्यक्रियामार्फत हटाएपछि व्यक्तिगत रूपमा तयार पारिएको खोप दिइएको थियो ।
कसरी तयार गरिन्छ व्यक्तिगत खोप?
कम्पनीहरूका अनुसार इन्टिस्मेरन बिरामीको आफ्नै ट्युमरको आनुवंशिक विशेषताका आधारमा तयार गरिन्छ । ट्युमरको नमुना लिएर त्यसको डीएनए सिक्वेन्सिङ गरिन्छ र क्यान्सर कोषिकामा रहेका विशिष्ट उत्परिवर्तन पहिचान गरिन्छ ।
त्यसपछि पहिचान भएका उत्परिवर्तनअनुसार प्रत्येक बिरामीका लागि छुट्टै खोप तयार गरिन्छ । खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई बिरामीको ट्युमरमा रहेका विशेष क्यान्सर कोषिका पहिचान गरी तिनविरुद्ध आक्रमण गर्न ‘प्रशिक्षित’ गर्ने उद्देश्य राख्छ ।
यसमा एमआरएनए प्रविधिको प्रयोग गरिएको छ । यही प्रविधि केही कोभिड–१९ खोपमा समेत प्रयोग भएको थियो ।
विशेषज्ञले भने– नतिजा आशाजनक
क्यान्सर विशेषज्ञहरूले प्रारम्भिक नतिजालाई महत्वपूर्ण र आशाजनक भनेका छन् । तर, ट्रायलका पूर्ण नतिजा सार्वजनिक भइनसकेकाले यसलाई अहिले नै निश्चित सफलता घोषणा गर्न हतार हुने उनीहरूको भनाइ छ ।
क्यान्सर रिसर्च यूकेकी रोकथाम तथा प्रारम्भिक पहिचान प्रमुख डा. तालिसिया क्वालोले अनुसन्धान आशाजनक भए पनि हाल उपलब्ध तथ्यांक अन्तरिम प्रकृतिको भएकाले पूर्ण समीक्षा आवश्यक रहेको बताएकी छन् ।
अक्सफोर्ड विश्वविद्यालयका मेडिकल अन्कोलोजिस्ट तथा एसोसिएट प्रोफेसर डा. लेनार्ड लीले पनि मेलानोमा भएका बिरामीका लागि यो राम्रो खबर भएको बताएका छन् । उनका अनुसार प्रारम्भिक नतिजाले व्यक्तिगत क्यान्सर खोप प्रभावकारी हुनसक्ने अवधारणालाई थप बल दिएको छ ।
अन्य क्यान्सरमा पनि परीक्षण
मर्क र मोदर्नाले मेलानोमासँगै फोक्सो, मूत्राशय र मिर्गौलाको क्यान्सरका लागि पनि व्यक्तिगत क्यान्सर खोपको परीक्षण गरिरहेका छन् ।
प्रारम्भिक नतिजा सार्वजनिक भएपछि दुवै कम्पनीको सेयर मूल्यमा समेत वृद्धि भएको जनाइएको छ । तर, खोपलाई नियमित उपचारका रूपमा प्रयोग गर्नुअघि क्लिनिकल ट्रायल पूरा गर्नुपर्नेछ । त्यसपछि सम्बन्धित नियामक निकायबाट स्वीकृति लिनुपर्ने हुन्छ ।
विशेषज्ञहरूका अनुसार व्यक्तिगत क्यान्सर खोपले भविष्यमा प्रत्येक बिरामीको ट्युमरको आनुवंशिक विशेषताअनुसार उपचार विकास गर्ने सम्भावना बढाएको छ । यद्यपि, यसको प्रभावकारिता, दीर्घकालीन सुरक्षा र सबै बिरामीमा उपयोगिता पुष्टि गर्न थप अनुसन्धान आवश्यक छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्