सर्लाही । सर्लाहीमा ट्याक्टरले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। शुक्रबार बिहान मलंगवा नगरपालिका–८ मा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी २३ वर्षीया युवतीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ज. १ त ५२४६ नम्बरको ट्याक्टरले पैदल हिँडिरहेकी गोडैता नगरपालिका–५ निवासी सत्यनारायण प्रसाद गुप्ताकी छोरी गुरीया कुमारीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
चालकसँग लाइसेन्स नभएको प्रहरीको भनाइ
घटनापछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ। चालक गोडैता नगरपालिका–११ निवासी श्री साहका १७ वर्षीय छोरा अजय साहरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, किशोर चालकसँग सवारी चालक अनुमतिपत्रसमेत थिएन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्