हेटौँडा । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आगामी भदौ ७ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार आइतबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्नेछ। बैठकको कार्यसूचीमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम तय गरिएको छ।
प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठकको समय निर्धारण गरेकी हुन्।
मुख्यमन्त्री थापा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
बहुमतका लागि ५३ मत आवश्यक
१०४ सदस्यीय वागमती प्रदेशसभामा सरकार गठन तथा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५३ जना सांसदको समर्थन आवश्यक हुन्छ।
मुख्यमन्त्री थापालाई नियुक्तिका क्रममा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ सांसदको समर्थन रहेको बताइएको छ। यही समर्थन कायम रहेमा उनले प्रदेशसभाबाट सहजै विश्वासको मत प्राप्त गर्ने देखिन्छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्