नवलपुर । नारायणगढ–बुटवल सडक विस्तारको काम लगभग सम्पन्न भएर सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेका बेला सडकका विभिन्न स्थानमा समस्या देखिएपछि निर्माण कम्पनीले पुनः मर्मत सुरु गरेको छ ।
नवलपुरको चोरमारा, अरुणखोलालगायतका क्षेत्रमा सडक भासिनुका साथै कतै सडक दबिएको र कतै उठेको पाइएपछि मर्मतको काम थालिएको हो । जिल्ला ट्राफिक प्रहरीका अनुसार सडक झट्ट हेर्दा सामान्य देखिए पनि कतिपय स्थानमा दुईदेखि तीन इन्चसम्म दबिएको तथा उठेको छ । यसले विशेषगरी दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधन दुर्घटनाको जोखिम बढाएको छ ।
चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिले सडक मर्मत सुरु गरेको हो । कम्पनीका इन्जिनियर ओपेन्द्र मुखियाका अनुसार चोरमारा क्षेत्रमा मात्रै करिब नौ सय मिटर सडक दबिएको तथा उठेको छ ।
बिग्रिएको सडकको माथिल्लो तहको पिच निकालेर मर्मत सुरु गरिएको र त्यसबाट समस्या समाधान नभए थप तहको पिच हटाएर मर्मत गरिने मुखियाले बताए । सडकका प्रायः उकालो तथा ओरालो खण्डमा यस्तो समस्या देखिएको उनको भनाइ छ ।
निर्माण कम्पनीले बढी भार बोकेका सवारीसाधन तथा सडकको भूबनोटका कारण सडकमा समस्या आएको हुन सक्ने जनाएको छ । अन्य प्रभावित स्थानमा मर्मत गरिसकिएको र चोरमारा खण्डको मर्मत पनि दुई–तीन दिनभित्र सम्पन्न गर्ने तयारी रहेको मुखियाले बताए ।
नारायणगढदेखि बुटवलसम्मको करिब ११४ किलोमिटर सडकखण्डमध्ये बजार क्षेत्रमा छ लेन, जंगल क्षेत्रमा चार लेन र दाउन्ने क्षेत्रमा तीन लेनको सडक निर्माण गरिएको छ । करिब १७ अर्ब रुपैयाँ लागतमा चिनियाँ कम्पनीले विस्तारको ठेक्का लिएको हो ।
सम्झौताअनुसार सडक हस्तान्तरणपछि पनि पाँच वर्षसम्म निर्माण कम्पनीले नै सडकको मर्मतसम्भार गर्नुपर्ने व्यवस्था छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्