काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग आफ्नो कुनै व्यक्तिगत विवाद नरहेको बताएका छन्।
शुक्रबार रास्वपा कार्यालय बनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सुनारले संसदीय समितिमा उजुरी परेपछि सम्बन्धित व्यक्ति तथा अधिकारीलाई बोलाएर छलफल गर्नु सामान्य र नियमित प्रक्रिया भएको बताए।
उनले आफू र प्रहरी संगठन वा प्रहरी प्रमुखबीच व्यक्तिगत विवाद नरहेको स्पष्ट पार्दै सञ्चारमाध्यमले विषयलाई दुई पक्षबीचको विवादका रूपमा अनावश्यक प्रचार गरेकोमा आपत्ति जनाए।
सांसद सुनारले रास्वपाको स्थापना नै अराजकता र बेथितिको अन्त्य, सुशासन कायम तथा भ्रष्टाचारविरुद्धको अभियानका लागि भएको दाबी गरे।
बारामा भएको बालिका हत्याको घटनाबारे बोल्दै उनले दोषीमाथि हदैसम्मको कानुनी कारबाही गर्न राज्य गम्भीर हुनुपर्ने बताए। घटनामा संलग्नलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्नेमा उनले जोड दिए।
सांसद सुनारका अनुसार संसदीय समितिमा परेको उजुरीमाथि सम्बन्धित व्यक्ति तथा अधिकारीलाई बोलाएर छलफल गर्नु संसदीय प्रक्रियाकै एउटा हिस्सा हो। त्यसलाई व्यक्तिगत विवादका रूपमा लिन नहुने उनको भनाइ छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्