कास्की । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शुक्रबार राति कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बिताएका छन्।
परिवारसहित अस्ताम पुगेका प्रधानमन्त्री शाहले शनिबार बिहान कुहिरोका कारण छ्याङ्ग खुलेको हिमालको दृश्य भने हेर्न पाएनन्। यद्यपि, मुस्ताङतर्फ प्रस्थान गर्ने बेलासम्म केही हिमाल देखिएको बताइएको छ। त्यसपछि उनी टोलीसहित सरकारी गाडीमा मुस्ताङतर्फ लागेका छन्।
अन्नपूर्ण इको भिलेज योग, ध्यान तथा स्थानीय उत्पादनका लागि परिचित छ। रिसोर्ट सञ्चालक विश्व अधिकारीका अनुसार प्रधानमन्त्रीको टोलीले त्यहाँ योगसमेत गरेको थियो। प्रधानमन्त्रीको सुरक्षाका लागि नेपाली सेनाले कडा सुरक्षा व्यवस्था मिलाएको थियो।
अधिकारीका अनुसार प्रधानमन्त्री शाहले रिसोर्टमा रहँदा इको भिलेजको अवधारणा, यसको नेपाली मोडल र दिगो जीवनशैलीबारे चासो राखेका थिए।
‘इको भिलेजको युरोपेली र नेपाली मोडल बुझ्नुपर्छ,’ प्रधानमन्त्रीले भनेको उद्धृत गर्दै अधिकारीले बताए।
अधिकारीका अनुसार परिवारले सञ्चालन गरेको उक्त इको भिलेज करिब २० हजार रुपैयाँको लगानीबाट गाईगोठ हुँदै सुरु भएको हो। कृषिमा नयाँपन, स्थानीय उत्पादन र दिगो जीवनशैलीलाई केन्द्रमा राखेर सञ्चालन गरिएको रिसोर्टबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको उनले बताए।
प्रधानमन्त्रीको खानपान पनि सामान्य रहेको अधिकारीले बताए। उनका अनुसार शाहले मेनु हेरेर सिस्नु, कोदोको रोटीलगायत स्थानीय परिकार खाएका थिए। उनले ‘इको टी’ समेत माग गरेका थिए।
‘हामीले प्रधानमन्त्रीका लागि छुट्टै केही बनाएनौँ। उहाँले मेनु हेरेर आफूलाई मन परेको खाना खानुभयो,’ अधिकारीले भने।
प्रधानमन्त्री शाहको व्यवहार सरल रहेको बताउँदै अधिकारीले उनको आगमनले अन्नपूर्ण इको भिलेजको पहिचान थप विस्तार हुने विश्वास व्यक्त गरे।
यसैबीच, प्रधानमन्त्रीको मुस्ताङ भ्रमण टोलीमा पर्यटनमन्त्री खड्गराज पौडेल ‘गनेस’ पनि सहभागी छन्। उनी शुक्रबार साँझ नै अस्तामस्थित रिसोर्ट पुगेका थिए।
यसअघि पोखराबाट सेनाको हेलिकप्टरमार्फत मुस्ताङ जाने सम्भावना रहे पनि प्रधानमन्त्री शाह शनिबार बिहान सरकारी गाडीमै मुस्ताङतर्फ प्रस्थान गरेका हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्