सप्तरी । सिरहाबाट विराटनगरतर्फ हुलाकी सडक हुँदै जाँदै गरेको ट्रक रोकेर प्रहरीले रकम मागेको र रकम दिन अस्वीकार गरेपछि पछ्याएर कुटपिट गरेको चालकले आरोप लगाएका छन् ।
ट्रक चालक शिवकुमार मण्डलका अनुसार सप्तरीको बलान बिहुल गाउँपालिकास्थित चन्ही चोकमा प्रहरी चौकी मौवाहा, मल्हनियामा कार्यरत सादा पोसाकका प्रहरी जवान राजकुमार रामले ट्रक रोकेर रकम मागेका थिए । रकम दिन अस्वीकार गरेपछि प्रहरीले ‘तिमी अगाडि जाऊ, त्यसपछि थाहा हुन्छ’ भन्दै ट्रकलाई अघि बढ्न दिएको मण्डलको दाबी छ ।
चालकका अनुसार चन्ही चोकबाट करिब १–२ किलोमिटर अगाडि पुगेपछि चार जना व्यक्तिले मोटरसाइकल ट्रकको अगाडि तेर्स्याएर रोकेका थिए । उनीहरूले आफूलाई ट्रकबाट बाहिर निकालेर कुटपिट गर्नुका साथै धाकधम्की दिएको मण्डलले बताएका छन् ।
सहचालक आशिष मण्डलका अनुसार पछि ती व्यक्तिहरू चन्ही चौकीमा कार्यरत प्रहरी रहेको थाहा भएको थियो । कुटपिटपछि उनीहरूले ‘तिमीहरू गाडी लिएर अगाडि आऊ, त्यसपछि थाहा हुन्छ’ भन्दै धम्की दिएको उनको आरोप छ ।
त्यसपछि बोदेबरसाइन क्षेत्रबाट सादा पोसाकमा रहेका दुई जना प्रहरी घटनास्थलमा पुगेको चालकले बताएका छन् । ट्रक अगाडि बढाउने क्रममा पुनः रोकिएपछि प्रहरी सहायक हवल्दार उमेश यादवले समेत धम्कीपूर्ण शैलीमा कुरा गरेको उनको आरोप छ ।
प्रहरीले ट्रकमा गाँजा रहेको आशंका गर्दै चेकजाँच गरेको चालकले बताएका छन् । पछि इलाका प्रहरी कार्यालय बोदेबरसाइनका प्रहरी सहायक निरीक्षक (सई) शिवशंकर शर्मा समेत घटनास्थलमा पुगेका थिए । ट्रक जाँच गर्दा गाँजा नभई सिमेन्ट मात्रै फेला परेको चालकको दाबी छ ।
चालक मण्डलले रकम नदिएका कारण प्रहरी कर्मचारीहरूले मिलेर आफूलाई दुःख दिएको आरोप लगाएका छन् । ट्रक सञ्चालनका क्रममा नेपाल प्रहरीलाई नियमित रूपमा रकम बुझाउनुपर्ने अवस्था रहेको दाबीसमेत उनले गरेका छन् ।
उनले रकम असुल्ने उद्देश्यले योजनाबद्ध रूपमा ट्रक पछ्याएर रोक्ने, कुटपिट गर्ने र धम्की दिने काम भएको आरोप लगाएका छन् ।
प्रहरीको प्रतिक्रिया
यस विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी हेमराज घिमिरेले घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
प्रहरीमाथि ट्रक चालकले लगाएको रकम मागेको, कुटपिट गरेको र धम्की दिएको आरोपको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्