चितवन । खैरहनी नगरपालिका–१, तरकारी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
शनिबार (भदौ ६) दिउँसो करिब १२ः२३ बजे बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बस र बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३०/३२ वर्षीय पुरुष र पछाडि सवार २५/२६ वर्षीया महिला गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक दुवैको नामथर तथा ठेगाना खुल्न बाँकी रहेको छ।
दुर्घटनामा संलग्न बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ का ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न बस र मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा राखेको जनाएको छ।
दुर्घटनापछि केही समय राजमार्गमा यातायात प्रभावित भए पनि प्रहरीले तत्काल व्यवस्थापन गरेको बताएको छ। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्