काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। भदौको पहिलो साता चीन जाने तयारीमा रहेका लामिछानेको भ्रमण केही समयका लागि स्थगित गरिएको हो।
भ्रमणको नयाँ मिति तय भइसकेको छैन। यद्यपि, स्रोतका अनुसार लामिछाने असोजमा अर्थात् मध्य सेप्टेम्बरतिर चीन जान सक्ने सम्भावना रहेको छ।
लामिछाने भदौ ७ देखि १४ गतेसम्म आठ दिने चीन भ्रमणमा जाने तयारी थियो। पत्नी निकिता पौड्यालसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बेइजिङपछि तिब्बतको कैलाश मानसरोवरसम्म पुग्ने कार्यक्रम तय भएको थियो।
तर, चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने सम्भावना नरहेको तथा नेपालको पछिल्लो राजनीतिक परिस्थितिमा समेत परिवर्तन आएकाले लामिछानेले तत्कालका लागि भ्रमण स्थगित गरेको स्रोतहरूले बताएका छन्।
भ्रमण स्थगित भए पनि चीन भ्रमणको सम्भावना भने कायमै रहेको लामिछानेनिकट एक नेताले बताए।
‘भ्रमण नै स्थगित भन्न मिल्दैन,’ उनले भने, ‘तर अब सभापति कहिले जानुहुन्छ भन्ने निश्चित छैन।’
सांसदहरूको टोली चीन जाँदै
यसैबीच, रास्वपाका सांसदसहितको एउटा टोली सातदिने चीन भ्रमणमा जाने भएको छ। बेइजिङमा आयोजना हुने विकासशील देशका सांसदहरूको आठौँ सेमिनारमा सहभागी हुन पाँच सदस्यीय टोली भदौ ८ गते चीन प्रस्थान गर्नेछ।
प्रतिनिधिसभामा रास्वपाका सांसद कमल सुवेदीको नेतृत्वमा जाने टोलीमा राष्ट्रिय सभाका सांसद झक्कु सुवेदी र किरण बाबु श्रेष्ठ, प्रतिनिधिसभाका सांसद यज्ञबहादुर बोगटी तथा संघीय संसदका उपसचिव शारदा भण्डारी रहेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्