काठमाडौँ । हालै ‘जय नेपाल पार्टी’ गठन गरेका पूर्वसांसद धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। शनिबार काठमाडौँस्थित सोल्टी होटलमा राणा र पूर्वराजा शाहबीच भेटवार्ता भएको हो।
जय नेपाल पार्टीका सचिवालय प्रमुख सगुनसुन्दर लावतीका अनुसार भेटवार्ता ‘वान टु वान’ भएको थियो। छलफल लामो र फलदायी रहेको जानकारी राणाले दिएको लावतीले बताएका छन्।
शनिबार हिमानी ट्रस्टले आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रममा राणा र पूर्वराजा शाहबीच छुट्टै कुराकानी भएको बताइएको छ।
लावतीका अनुसार भेटमा जय नेपाल पार्टीको संगठन, लक्ष्य तथा उद्देश्यका साथै समसामयिक राजनीतिक विषयमा पूर्वराजालाई जानकारी गराइएको थियो।
‘राजाले सुन्नुभयो। सकारात्मक रूपमा लिनुभयो। राजाले यो गर, त्यो नगर भन्नुभएन। सबैलाई मिलाएर जाऊ भन्नुभयो,’ लावतीले भने।
जय नेपाल पार्टी हाल सनाखत प्रक्रियामा रहेको र पार्टीले संगठन विस्तार तथा राजनीतिक गतिविधि अघि बढाइरहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्