काठमाडौं । जापानको फुकुओकास्थित नाकागावा नदीमा २५ वर्षीया नेपाली युवती लक्ष्मी राजवंशी मृत अवस्थामा फेला परेकी छन्। अगस्ट १९ तारिख नदीमा तैरिरहेको अवस्थामा उनको शव फेला परेपछि जापानी प्रहरीले हत्याको आशंकामा अनुसन्धान अघि बढाएको छ।
राजवंशी सन् २०२३ को मे महिनामा विद्यार्थी भिसामा जापान पुगेकी थिइन्। उनी फुकुओकास्थित एक भाषा विद्यालयमा अध्ययनरत थिइन् भने स्थानीय रेस्टुरेन्टमा पार्टटाइम काम गर्दै आएकी थिइन्।
प्रहरीका अनुसार अगस्ट १८ तारिख राति करिब १०ः३० बजे उनलाई सहकर्मीले काम गर्ने रेस्टुरेन्टबाट साइकलमा डेरातर्फ जाँदै गरेको अन्तिम पटक देखेका थिए। त्यसको केही घण्टापछि अगस्ट १९ को बिहान ५ः४५ बजे नाकागावा नदीमा उनको शव फेला परेको थियो।
प्रहरीले उनको शवसँग कुनै व्यक्तिगत सामान फेला नपरेको जनाएको छ। शव परीक्षणबाट मृत्युको कारण अझै स्पष्ट भइसकेको छैन। उनको टाउको र निधारमा गम्भीर चोटका संकेत देखिएको प्रहरीले जनाएको छ।
डेरामा पनि रगतका दाग
प्रहरी अनुसन्धानका क्रममा राजवंशी बस्दै आएको कोठामा रगतका दाग तथा हात हालाहाल भएको जस्तो अवस्था फेला परेको बताइएको छ। यद्यपि, डेराको ढोका जबर्जस्ती खोलिएको वा कोठामा तोडफोड भएको स्पष्ट प्रमाण भने नभेटिएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गर्नुका साथै स्थानीयवासीसँग सोधपुछ र आसपासका सुरक्षा क्यामेरा फुटेजको अध्ययन गरिरहेको छ।
घटनाबारे परिवारलाई जानकारी गराइएको छ। नेपाली दूतावासले पनि घटनाबारे आवश्यक समन्वय र सहयोग गरिरहेको जनाइएको छ। घटनाको वास्तविक कारण र दोषी पहिचान गर्न जापानी प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्