काठमाडौँ, भदौ ७ गते । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) को संक्रमण र मृत्यु हुनेको संख्या बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जनामा प्रयोगशालाबाट जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ८६ प्रतिशतले जेइविरुद्धको खोप नलगाएको पाइएको छ।
हालसम्म संक्रमितमध्ये २१ जनाको मृत्यु भएको छ। मृत्यु भएका सबैले जेइ खोप नलगाएको पाइएको महाशाखाले जनाएको छ।
जेइका संक्रमित झापामा १०, कैलाली र मोरङमा सात–सात, सप्तरी र कञ्चनपुरमा छ–छ तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा पाँच–पाँच जना रहेका छन्।
इलाम, काभ्रेपलाञ्चोक, काठमाडौं, सिन्धुली र सुर्खेतलगायत पहाडी जिल्लामा समेत जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ।
कसरी सर्छ जेइ?
जापानिज इन्सेफलाइटिस मुख्यतः संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ। स्वास्थ्य सेवा विभागका अनुसार धानखेत तथा सुँगुरपालन हुने क्षेत्रमा बसोबास गर्ने व्यक्तिमा यसको संक्रमण बढी देखिने गरेको छ।
संक्रमित सुँगुर, बङ्गुर तथा हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा भाइरस सर्न सक्छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार जेइ संक्रमित प्रत्येक तीन जनामध्ये एक जनाको मृत्यु हुनसक्छ भने एक जना दीर्घकालीन अपाङ्गता वा स्नायुसम्बन्धी समस्यासहित बाँच्नुपर्ने अवस्था आउन सक्छ।
उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तन हुनेजस्ता लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा लैजान महाशाखाले आग्रह गरेको छ।
१५ वर्षमाथिका संक्रमित धेरै
पछिल्लो तथ्यांकअनुसार पुष्टि भएका ८० संक्रमितमध्ये ५१ जना अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन्।
जेइका कारण भएको मृत्युमध्ये ५० वर्षभन्दा माथिका व्यक्तिको हिस्सा ८१ प्रतिशत रहेको छ। यस वर्ष पुष्टि भएका ८० संक्रमितमध्ये ४३ जना पुरुष र ३७ जना महिला छन्।
खोप लगाउन आग्रह
जापानिज इन्सेफलाइटिसबाट सुरक्षित रहन जेइ खोपसँगै लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।
सरकारले १२ महिनाको उमेरमा बालबालिकालाई जेइ खोप दिने गरेको छ। कुनै कारणले खोप छुटेको भए पाँच वर्षको उमेरसम्म पनि खोप उपलब्ध गराइने व्यवस्था रहेको छ।
परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जापानिज इन्सेफलाइटिसबाट बच्न खोप अत्यन्त महत्वपूर्ण रहेको भन्दै खोप छुटेका बालबालिकालाई शीघ्र खोप लगाउन आग्रह गरेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्