भद्रपुर । गत वर्ष भएको जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान सट गनसहित झापाको दमकबाट एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ घर भई हाल दमक नगरपालिका–२ स्थित रतुवा पुलनजिकको एक मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका २० वर्षीय सुमन कर्ण रहेका छन्।
प्रहरीका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा लुटिएको सट गन दमक नगरपालिका–४ त्रिवेणी चोकस्थित खैरबारी क्षेत्रमा लुकाएर राखिएको भन्ने गोप्य सूचना प्राप्त भएको थियो।
सोही सूचनाका आधारमा प्रहरीले कर्णलाई नियन्त्रणमा लिएर उक्त क्षेत्रमा खोजतलास गरेको थियो। खोजीका क्रममा कम्बलमा पोको पारेर लुकाइएको अवस्थामा एक थान सट गन बरामद गरिएको प्रहरीले जनाएको छ।
कहाँबाट लुटिएको थियो हतियार?
बरामद गरिएको सट गन कुन प्रहरी कार्यालय वा सुरक्षाकर्मीबाट लुटिएको हो र आन्दोलनका क्रममा उक्त हतियार कर्णसम्म कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए।
प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ। हतियार लुटपाटमा संलग्न व्यक्तिहरू तथा त्यसलाई लुकाउन वा ओसारपसार गर्न सहयोग गर्नेहरूको समेत खोजी भइरहेको प्रहरीले बताएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्