खजुरा, भदौ ७ गते । गाउँघरमा कसैको मृत्यु हुँदा शोक केवल एउटा परिवारमा सीमित हुँदैन । आफन्त र छिमेकीहरू दुःखमा सहभागी हुन्छन् र अन्त्येष्टि तथा किरिया संस्कारका लागि आवश्यक काममा आ–आफ्नो जिम्मेवारी सम्हाल्छन् । यही सामुदायिक भावनाको उदाहरण बनेको छ प्युठानको ऐरावती गाउँपालिका–६ बिजुलीस्थित महेन्द्रदीप गाउँ ।
गाउँमा कसैको निधन भएको खबर पाउनासाथ महिला समूहदेखि पुरुषसम्म सहयोगमा जुट्छन् । कसैले मलामी व्यवस्थापन गर्छन्, कसैले आवश्यक सामग्री जुटाउँछन् भने कसैले शोकाकुल परिवारलाई आर्थिक तथा मानसिक रूपमा साथ दिन्छन् ।
दुःखमा जुट्छन् महिला
केही दिनअघि गाउँमा १०४ वर्षीया वृद्धाको निधन भयो । त्यसपछि नवप्रतिभा सामुदायिक संस्थामा आबद्ध महिला सदस्यहरू आवश्यक सामग्री जुटाउन सक्रिय भए ।
सुशीला खड्का, सिर्जना बस्नेत, राधिका बस्नेत, लक्ष्मी पाण्डे, बिना पाण्डे, सरिता बस्नेत, राधा पाण्डेलगायत महिला डोको र नाम्लो बोकेर नजिकैको जङ्गल पुगे । उनीहरूले सालका पात टिपेर ल्याए र मृतकको घरमा सामूहिक रूपमा दुना–टपरी बनाएर बुझाए ।
मृत्युको पीडामा रहेका परिवारका लागि अन्त्येष्टिका सामग्री जुटाउने काम आफैँमा थप बोझ बन्न सक्छ । त्यस्तो अवस्थामा गाउँलेले एउटा जिम्मेवारी सम्हालिदिँदा परिवारलाई ठूलो राहत मिल्ने स्थानीयहरू बताउँछन् ।
बचतबाट आर्थिक सहारा
महिला समूहको सहयोग मृत्यु संस्कारमा सामग्री जुटाउनेमा मात्र सीमित छैन । समूहले नियमित बचतसमेत गर्दै आएको छ ।
समूहका अध्यक्ष राधा पाण्डेका अनुसार सदस्यहरूले हरेक महिना थोरै–थोरै रकम बचत गर्छन् । संकलित रकम सामूहिक पुँजीका रूपमा राखिन्छ र आवश्यक परेका सदस्यलाई कम ब्याजमा उपलब्ध गराइन्छ । यसबाट आपत्का बेला महँगो ब्याजमा ऋण लिनुपर्ने बाध्यता कम भएको उहाँ बताउनुहुन्छ ।
समूहले नियमित बैठकमार्फत गाउँका समस्या, सामाजिक गतिविधि र आगामी योजनाबारे छलफलसमेत गर्दै आएको छ ।
पुरुष पनि आफ्नै जिम्मेवारीमा
मृत्यु संस्कारमा गाउँका पुरुषहरूको सहभागिता पनि उत्तिकै महत्त्वपूर्ण छ । किरिया सकेर शुद्धी गर्ने दिन आवश्यक पर्ने दाउरा जुटाउन उनीहरू सामूहिक रूपमा जङ्गल जाने गर्छन् ।
यसका लागि उनीहरूले कुनै पारिश्रमिक लिँदैनन् । छिमेकीको दुःखमा सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको उनीहरूको भनाइ छ ।
‘गाउँको शक्ति मानिसको मनमा छ’
स्थानीय रेशम पाण्डे यस्तो अभ्यासले गाउँमा आपसी सम्बन्ध र सामाजिक एकता बलियो बनाएको बताउनुहुन्छ ।
स्थानीय टेकबहादुर बस्नेत भन्नुहुन्छ, “गाउँको शक्ति त्यहाँका स्रोत साधनमा मात्र छैन, त्यहाँका मानिसको मनमा छ ।”
कसैको घरमा दुःख पर्दा समय दिनु, सालका पात ल्याइदिनु, दुना–टपरी गाँसिदिनु, दाउरा जुटाइदिनु वा आवश्यक पर्दा समूहको बचतबाट आर्थिक सहयोग गर्नु—यी सबै सामुदायिक उत्तरदायित्वका उदाहरण हुन् ।
आधुनिक जीवनशैली र बढ्दो व्यक्तिगत व्यस्तताबीच पनि महेन्द्रदीप गाउँमा कायम यस्तो सामूहिक संस्कारले ‘एउटाको दुःख सबैको दुःख’ भन्ने सामाजिक भावना अझै जीवित रहेको देखाउँछ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्