काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आए पनि स्वीकार नगरेको बताएका छन्।
आइतबार आयोजित ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमअन्तर्गतको प्रशिक्षणलाई सम्बोधन गर्दै लामिछानेले २१ सिटको दलको नेताका रूपमा प्रधानमन्त्री बन्ने प्रस्ताव आएको दाबी गरे।
‘मलाई २१ सिटको दलको नेताको रूपमा प्रधानमन्त्री बन्नका लागि मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव पनि आएको थियो,’ उनले भने, ‘भइदिऊँ न त भन्दा गाह्रो पनि थिएन।’
लामिछानेले आफूले उक्त प्रस्ताव अस्वीकार गरेको दाबी गर्दै त्यसलाई ‘किस्तीमा आएको प्रधानमन्त्री पद’को संज्ञा दिए। ‘म यहाँ गर्वका साथ भन्न सक्छु, किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हुँ,’ उनले भने।
उनले आफूले ‘त्यागी’को उपाधि पाउने लोभमा यस्तो निर्णय नगरेको स्पष्ट पारे। आफ्नो निर्णयलाई इतिहासमा दर्ज गराउनेभन्दा पनि तत्कालीन आन्दोलन र परिस्थितिको आवश्यकताअनुसार लिएको उनको भनाइ थियो।
‘मैले यसलाई असाध्यै धेरै गर्वको विषय बनाएको होइन, इतिहासको पानामा दर्ज मात्रै गराउन खोजेको हो। किनकि यो आन्दोलनले, यो मोमेन्टले कुरिरहेको थियो,’ लामिछानेले भने।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्