काठमाडौँ । नेपाली कांग्रेसको नेतृत्वबाट बाहिरिएपछि केही समय राजनीतिक रूपमा निष्क्रियजस्तै देखिएका निवर्तमान सभापति शेरबहादुर देउवाको चुनदेवीस्थित अस्थायी निवासमा पछिल्लो समय फेरि राजनीतिक चहलपहल बढ्न थालेको छ। उपचारका लागि लामो समय सिंगापुर बसेर स्वदेश फर्किएपछि देउवालाई भेट्न आउने नेता–कार्यकर्ताको संख्या बढेको छ भने कांग्रेसभित्रको विवाद, विशेष महाधिवेशन र सर्वोच्च अदालतमा पुगेको पार्टी विवादले उनको निवासलाई पुनः राजनीतिक भेटघाटको केन्द्र बनाएको छ।
गत वर्ष भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएपछि उनी असोजमा महाराजगन्जस्थित अमेरिकी दूतावास नजिकैको चुनदेवीमा रहेको घरमा सरेका थिए। आक्रमणमा घाइते भएका देउवाले उपचारपछि यही निवासबाट राजनीतिक भेटघाट सुरु गरेका थिए।
त्यसपछि उनले असोज २८ गते राजनीतिक विश्राम लिँदै पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिए। तर कांग्रेसभित्रको आन्तरिक विवाद र विशेष महाधिवेशनको बहससँगै देउवा राजनीतिक रूपमा पूर्णतः अलग भने हुन सकेनन्।
कात्तिकमा उपचारका लागि सिंगापुर गएका देउवा स्वदेश फर्किएपछि कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भइसकेको थियो। विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि देउवाको करिब एक दशक लामो पार्टी नेतृत्व औपचारिक रूपमा समाप्त भयो। त्यसपछि भएको निर्वाचनमा देउवा टिकटबाट समेत वञ्चित भए।
तर, लामो उपचारपछि साउन २८ गते स्वदेश फर्किएसँगै देउवाको राजनीतिक सक्रियताबारे फेरि चर्चा सुरु भएको छ।
चुनदेवीमा बिहानदेखि कार्यकर्ताको भीड
आइतबार बिहानैदेखि चुनदेवीस्थित देउवा निवासमा नेता–कार्यकर्ता भेट्न पुगेका थिए। बिहान ९ बजेदेखि भेटघाट सुरु गरेका देउवाले विभिन्न जिल्ला र क्षेत्रबाट आएका कांग्रेस नेता तथा कार्यकर्तासँग पार्टीको वर्तमान अवस्था, आफ्नो स्वास्थ्य र आगामी राजनीतिक बाटोबारे छलफल गरेका थिए।
त्यहाँ देखिएको एउटा रोचक दृश्य थियो—डडेल्धुराका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लको उपस्थिती।
२०७९ सालको निर्वाचनमा देउवाविरुद्ध उम्मेदवारी दिएका मल्ल विगतमा कांग्रेसबाट निष्कासितसमेत भएका थिए। लामो समयपछि देउवा र मल्लबीच भएको भेटलाई कांग्रेसभित्र सम्भावित मेलमिलाप र संवादको संकेतका रूपमा हेरिएको छ।
देउवाले सबैभन्दा पहिले मल्ललाई भेटेका थिए। करिब १५ मिनेटको भेटमा स्वास्थ्य अवस्था र पार्टीको भविष्यबारे कुराकानी भएको बताइएको छ। देउवाले पार्टी एकताको विषयमा आफू गम्भीर रहेको र सर्वोच्च अदालतबाट आउने निर्णय सबैले स्वीकार गर्नुपर्ने धारणा राखेको बताइएको छ।
‘अदालतको निर्णय पर्खौं’
देउवालाई भेट्न पुगेका अधिकांश नेता–कार्यकर्ताको मुख्य चासो कांग्रेसभित्रको विवाद र सर्वोच्च अदालतमा विचाराधीन मुद्दामाथि केन्द्रित थियो।
कांग्रेसका विभिन्न जिल्ला र तहका नेताहरूले देउवासँग पार्टीको वर्तमान अवस्थाबारे जिज्ञासा राखेका थिए। जवाफमा देउवाले धैर्य गर्न र अदालतको निर्णय पर्खन आग्रह गरेका थिए।
उनको सन्देश मूलतः एउटै थियो—‘अदालतबाट न्याय पाउँछौँ, निर्णय पर्खौं।’
देउवा निकट नेताहरूका अनुसार, सर्वोच्च अदालतको निर्णय आएपछि कांग्रेसभित्र संवाद र एकताको प्रक्रिया अघि बढाउन सकिने उनको धारणा छ।
भदौ ४ गते गगन थापासँग भेट गरेका नैनसिंह महरले पनि आइतबार देउवालाई भेटेर पार्टी एकताका लागि पहल गर्न आग्रह गरेका थिए। देउवाले थापासँग संवाद गर्न आफू तयार रहेको, तर पहिले अदालतको निर्णय आउनुपर्ने बताएका छन्।
विशेष महाधिवेशनप्रति देउवाको असन्तुष्टि
देउवाले आफूलाई भेट्न आएका कार्यकर्तासँग विशेष महाधिवेशनको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
उनको बुझाइमा पार्टी विधानअनुसार नियमित महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुनुपर्ने थियो। तर तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बाटो रोज्दा पार्टीभित्र विभाजनको स्थिति सिर्जना भएको देउवाको गुनासो छ।
१५औँ महाधिवेशनमार्फत सम्मानजनक रूपमा नेतृत्व हस्तान्तरण गर्ने आफ्नो चाहना पूरा हुन नदिइएको उनको निकटवर्तीहरूको भनाइ छ।
यही विवाद अहिले सर्वोच्च अदालतसम्म पुगेको छ। देउवा पक्षले विशेष महाधिवेशनको वैधानिकता र त्यसबाट भएका निर्णयमाथि प्रश्न उठाउँदै आएको छ।
देउवा निकट स्रोतका अनुसार आगामी असोज १६ देखि १९ गतेसम्मका लागि तय गरिएको महाधिवेशन रोक्न सर्वोच्च अदालत जाने तयारीसमेत भइरहेको छ।
‘कमब्याक’को राजनीतिक संकेत?
चुनदेवीमा बढेको चहलपहललाई देउवाको प्रत्यक्ष राजनीतिक पुनरागमनको रूपमा व्याख्या गर्न हतार हुन सक्छ। तर लामो समयदेखि सुनसानजस्तै रहेको उनको निवासमा सयौँ कार्यकर्ताको उपस्थिति र पुराना राजनीतिक प्रतिद्वन्द्वीसँग समेत भेटघाट हुनुले देउवा अझै कांग्रेस राजनीतिबाट अलग भइनसकेको सन्देश भने दिएको छ।
विशेष महाधिवेशनपछि पार्टी नेतृत्व गगन थापाको हातमा पुगे पनि कांग्रेसभित्र देउवा समूहको संगठनात्मक प्रभाव पूर्ण रूपमा समाप्त भएको छैन। जिल्ला तहदेखि केन्द्रीय राजनीतिसम्म देउवा निकट नेताहरू अझै सक्रिय छन्।
त्यसैले अहिलेको चुनदेवी चहलपहल केवल स्वास्थ्यलाभपछि कार्यकर्तासँगको सामान्य भेटघाट मात्र हो कि कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ शक्ति–सन्तुलन निर्माण गर्ने प्रयासको सुरुआत हो भन्ने प्रश्न उठ्न थालेको छ।
सर्वोच्चको फैसला : देउवाको राजनीतिक भविष्यको ‘टर्निङ प्वाइन्ट’?
देउवाको आगामी राजनीतिक भूमिकालाई धेरै हदसम्म सर्वोच्च अदालतको निर्णयले निर्धारण गर्ने देखिन्छ।
यदि अदालतबाट देउवा पक्षको दाबीलाई बल पुग्ने निर्णय आयो भने कांग्रेसभित्र फेरि शक्ति समीकरण बदलिन सक्छ। त्यस अवस्थामा देउवा स्वयं पुनः पार्टी नेतृत्वमा फर्किन्छन् वा आफ्नो समूहलाई संगठित गर्दै नयाँ राजनीतिक भूमिका खेल्छन् भन्ने प्रश्न महत्वपूर्ण बन्नेछ।
तर अदालतको निर्णय उनको अपेक्षाविपरीत आएमा पनि देउवा समूह कांग्रेसभित्र प्रभावशाली गुटका रूपमा रहने सम्भावना भने कायमै छ।
अहिले देउवाले सार्वजनिक रूपमा आक्रामक राजनीतिक अभियान सुरु गरेका छैनन्। बरु उनी संवाद, धैर्य र अदालतको निर्णय पर्खने रणनीतिमा देखिन्छन्।
तर चुनदेवीको बढ्दो चहलपहलले एउटा कुरा भने स्पष्ट संकेत गरेको छ—शेरबहादुर देउवा राजनीतिक रूपमा अझै ‘रिटायर्ड’ भएका छैनन्।
एक दशकभन्दा बढी समय नेपाली कांग्रेसको शक्ति केन्द्रमा रहेका देउवा अहिले पार्टीको औपचारिक नेतृत्वबाट बाहिरिए पनि उनको निवासमा बढेको नेता–कार्यकर्ताको भीडले कांग्रेस राजनीतिमा उनको प्रभाव र भूमिका अझै समाप्त नभएको देखाएको छ।
अब सबैको नजर सर्वोच्च अदालतको निर्णयमा केन्द्रित छ। अदालतको फैसलापछि चुनदेवीको यो राजनीतिक चहलपहल केवल भेटघाटमा सीमित रहन्छ कि नेपाली कांग्रेसभित्र अर्को शक्ति–पुनर्संयोजनको आधार बन्छ, त्यसले देउवाको आगामी राजनीतिक यात्राको दिशा तय गर्नेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्