काठमाडौँ । निजी भ्रमणका क्रममा पोखरा पुगेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज काठमाडौँ फर्किँदैछन्। शुक्रबार सडकमार्ग हुँदै काठमाडौँबाट पोखरा पुगेका प्रधानमन्त्री शाह शनिबार गाडीमै मुस्ताङ पुगेका थिए।
आइतबार मुस्ताङबाट पोखरा फर्किएर बास बसेका शाह सोमबार काठमाडौँ फर्किने कार्यक्रम रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
प्रधानमन्त्री शाह पोखरा र मुस्ताङ गाडीमै पुगेकाले काठमाडौँ पनि सडकमार्ग हुँदै फर्किने सम्भावना छ। तर, पृथ्वी राजमार्गको तनहुँ खण्डमा पहिरोको जोखिम उच्च रहेकाले स्थानीय प्रशासनले सडक अवस्थाबारे निगरानी बढाएको छ।
गएराति करिब १० बजे तनहुँको व्यास नगरपालिका–१२ छिरकनेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। पहिरो र ढुंगा हटाएर राति नै सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार पहिरो हटाइए पनि सडक खण्डमा जोखिम कायमै छ।
‘छिरकनेमा खसेको पहिरो हटाएर गएराति नै हामीले सडक खुलाएका छौँ,’ डीएसपी घिमिरेले भने, ‘तर सडकमा पहिरोको डर कायमै छ। सडकको केही माथि ढिस्कोको पहाडै आएर बसेको छ। त्यो कतिबेला खस्छ भन्न सकिँदैन। खतरा कायम नै छ।’
हाल उक्त सडकखण्डमा आलोपालो गरी सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। पहिरो खसेको स्थानमा प्रहरी परिचालन गरी सवारीसाधनलाई सुरक्षित रूपमा आवतजावत गराइएको छ।
घिमिरेका अनुसार वर्षा भए पहिरोको जोखिम अझ बढ्न सक्छ। सडकभन्दा माथि रहेको ठूलो ढिस्को खस्ने जोखिम रहेकाले यात्राका क्रममा विशेष सतर्कता अपनाउनुपर्ने अवस्था छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्