सिराहा । सिराहामा करेन्ट लागेर एकैदिन तीन जनाको मृत्यु भएको छ। लक्ष्मीपुर पतारी गाउँपालिकामा दुई जना र नवराजपुर गाउँपालिकामा एक जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुकियाहीका ४५ वर्षीय इसा अन्सारी र ५५ वर्षीय पुलकित मण्डलको खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
खेतमा सिँचाइका लागि प्रयोग गरिएको मोटरको तार मिलाउने क्रममा करेन्ट लाग्दा अन्सारीको घटनास्थलमै मृत्यु भएको थियो। मण्डलको भने नाङ्गो तार छुँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, शनिबार नवराजपुर गाउँपालिका–४ मा विद्युत् मोटरको तार जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर २८ वर्षीय पशुपति शर्माको मृत्यु भएको छ।
गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि नवराजपुर आधारभूत अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए।
मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्