राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, परीक्षणपछि विद्युत् उत्पादन हुने
म्याग्दी । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको भौतिक निर्माण तथा उपकरण जडानको काम पूरा भएको हो।
रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजना विद्युत् उत्पादनको तयारीमा रहेको जानकारी दिए। उनका अनुसार बाँध, डिसेन्डर, सुरुङ र स्विचयार्डको परीक्षण सफल भइसकेको छ।
२० मेगावाट क्षमताको एउटा युनिटको परीक्षणसमेत पूरा भएको र अर्को २० मेगावाट क्षमताको युनिटको परीक्षण आइतबारदेखि सुरु गरिएको उनले बताए।
‘बाँध, डिसेन्डर, सुरुङ, स्विचयार्डको परीक्षण सफल भइसकेको छ। २० मेगावाट क्षमताको एकवटा युनिटको परीक्षण पनि सकिएको छ। अर्को २० मेगावाटको युनिटको पनि आइतबारदेखि परीक्षण थालिएको छ,’ केसीले भने।
दुवै युनिटको परीक्षण एक सातादेखि १० दिनसम्म गर्ने र त्यसपछि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य रहेको उनले बताए।
रघुगंगा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झिँको फेदीमा निर्माण भएको बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा दुईवटा पानी थिग्र्याउने पोखरीको परीक्षण सम्पन्न भएको छ। तिल्केनीचौरमा निर्माण भएको विद्युत्गृहमा जडान गरिएका उपकरणको समेत परीक्षण सुरु गरिएको छ।
स्विचयार्ड सञ्चालनमा
आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न विद्युत्गृह परिसरमा निर्माण गरिएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको छ।
भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) ले आयोजना निर्माणका लागि ४५ महिनामा काम सम्पन्न गर्ने लक्ष्यसहित २०७४ मंसिर ६ गते करिब ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। निर्माणमा ढिलाइ भएपछि आयोजनाको म्याद पटक–पटक थप गरिएको थियो।
कोरोना महामारी, बाढी, पहिरोलगायत प्राकृतिक विपद् तथा नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए।
आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो।
दुई दशकपछि आयोजना पूरा
भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना निर्माण गरिएको हो।
आयोजना निर्माणका लागि २०६६ मा आइभिआरसिएलसँग ठेक्का सम्झौता भएको थियो। कम्पनीको कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा उक्त ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो।
पछिल्लो पटक छनोट भएको जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा मुख्य सुरुङ निर्माण सुरु गरेको थियो।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले राहुघाटलाई जिल्लाको जलविद्युत् विकासको ‘गेटवे’का रूपमा लिइएको बताए।
‘राहुघाट सुरु भएपछि म्याग्दीमा भित्रिएका १० वटा आयोजना सम्पन्न भइसकेका छन्। ढिलै भए पनि दुई दशकको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना सम्पन्न भएको खबरले हामीलाई उत्साहित बनाएको छ,’ उनले भने।
वार्षिक २४ करोड युनिटभन्दा बढी विद्युत् उत्पादन हुने
आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ।
राहुघाटबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोरअन्तर्गत निर्माण भएको २२० केभी डबल सर्किट दाना–कुश्मा प्रसारण लाइनमा लिलोमार्फत जोडिनेछ। आयोजनाको विद्युत् जोड्न आवश्यक चारवटा टावर तथा प्रसारण लाइन निर्माणसमेत सम्पन्न भइसकेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्