मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज (भदौ ८ गते) प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ ।
प्रदेशसभा सचिवालयका अनुसार बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री पदमा दाबी गरेका थापालाई भदौ ४ गते वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्री नियुक्तिमा राप्रपाले गरेको समर्थनलाई लिएर पार्टीभित्रै विवाद देखिएको छ । यता नेपाली कांग्रेसले मुख्यमन्त्री थापाले पेस गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ‘ह्वीप’ जारी गरिसकेको छ ।
आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले सरकारका प्राथमिकता तथा नीति प्रस्तुत गर्दै विश्वासको मत माग्ने तयारी छ । संविधानको धारा १६८ बमोजिम मुख्यमन्त्री नियुक्त भएपछि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्