वासिङ्टन डीसी । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिकाले इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक कारबाही सुरु गर्न लागेको दाबी गरेका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति ध्वस्त पारेको दाबी गर्दै अब ठूलो आर्थिक दबाब सिर्जना गर्ने घोषणा गरेका हुन् ।
अर्थमन्त्री बेसेन्टले सोमबार बिहान सामाजिक सञ्जाल एक्समार्फत ट्रम्प प्रशासनले इरानको सैन्य क्षमतामाथि ठूलो क्षति पुर्याएको र आणविक कार्यक्रम समाप्त पारेको दाबी गरेका छन् । उनले अब इरानविरुद्ध ठूलो आर्थिक कारबाही सुरु हुने बताएका छन् । उनले यो कदम कुनै पनि विरोधीविरुद्ध अमेरिकाले यसअघि नचालेको स्तरको हुने संकेत गरेका छन् ।
बेसेन्टले अमेरिकाले इरानविरुद्ध चाल्न लागेको आर्थिक कदमको विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् । यद्यपि, उनको घोषणाले इरानमाथि आर्थिक तथा वित्तीय दबाब थप कडा पार्ने संकेत गरेको छ ।
आर्थिक दबाब बढाउने तयारी
अमेरिका र इरानबीच लामो समयदेखि जारी तनावका बीच बेसेन्टको पछिल्लो घोषणाले दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बन्न सक्ने देखिएको छ । अमेरिकाले यसअघि पनि इरानमाथि विभिन्न आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ । पछिल्लो घोषणाले भने आगामी कदम थप व्यापक हुन सक्ने संकेत गरेको छ ।
बेसेन्टले ट्रम्प प्रशासनको सैन्य कारबाहीले इरानको सैन्य क्षमता र आणविक कार्यक्रममाथि गम्भीर असर परेको दाबी गरेका छन् । तर, इरानको सैन्य तथा आणविक क्षमतामा भएको क्षतिसम्बन्धी यी दाबीको स्वतन्त्र पुष्टि भइसकेको छैन ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्