काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा सोमबारदेखि निजी सवारीसाधन पनि चल्न थालेका छन् ।
९ जनासम्म यात्रु क्षमता भएका कार, जिप, भ्यानलगायतका निजी सवारीलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइएको हो । निर्माण कार्य सम्पन्न भइसकेपछि अहिले सुरुङमार्गको चरणबद्ध परीक्षण भइरहेको सडक विभागले जनाएको छ ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार पहिलो चरणमा साना निजी तथा सरकारी सवारीलाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म एकतर्फी रूपमा सुरुङमार्गबाट आवतजावत गर्न दिइनेछ ।
सुरुङमार्गको सञ्चालन अवस्था हेरेर आगामी एक–दुई दिनभित्र दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ । त्यसपछि सञ्चालन समयसमेत विस्तार गर्दै बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म र क्रमशः बिहान ६ बजेदेखि राति १० बजेसम्म पुर्याउने योजना रहेको न्यौपानेले बताउनुभयो ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण सम्पन्न भइसकेको छ । यसको औपचारिक उद्घाटनसमेत भइसकेको छ भने अहिले चरणबद्ध रूपमा परीक्षण सञ्चालन भइरहेको सडक विभागले जनाएको छ ।
सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा हुँदै काठमाडौँ उपत्यका प्रवेश तथा बाहिरिने सवारीसाधनलाई सहज हुने अपेक्षा गरिएको छ । सुरुङमार्गले काठमाडौँ उपत्यकालाई देशका विभिन्न भाग तथा तराई क्षेत्रसँग जोड्ने यातायातलाई थप सहज बनाउनेछ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्