बाँके । नेपालगञ्ज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटकीय प्रवेशद्वारका रूपमा विकास गर्ने लक्ष्यसहित नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले सातबुँदे घोषणापत्र सार्वजनिक गरेको छ।
पश्चिम नेपालको पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै जारी गरिएको घोषणापत्रमा नेपालगञ्जलाई धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनका प्रमुख गन्तव्यसँग जोड्ने र विमानस्थलको भूमिका विस्तार गर्दै क्षेत्रीय पर्यटनको प्रवेशद्वारका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाइएको छ।
नाट्टा बाँके च्याप्टरले नेपालगञ्ज विमानस्थलको विकासका लागि सम्बन्धित सरकारी निकाय, विमान सेवा प्रदायक तथा निजी क्षेत्रसँग निरन्तर समन्वय र सहकार्य गर्ने जनाएको छ। विमानस्थललाई पश्चिम नेपाल घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटकका लागि सहज प्रवेश बिन्दुका रूपमा विकास गर्न आवश्यक पूर्वाधार, हवाई सेवा र पर्यटन प्रवर्द्धनमा जोड दिइने बताइएको छ।
घोषणापत्रमा बाँके तथा आसपासका धार्मिक गन्तव्यलाई एकीकृत गर्दै धार्मिक पर्यटन सर्किट विकास गर्ने योजना पनि अघि सारिएको छ। बागेश्वर, बाबा–बर्फानी, सन्तानेश्वर–गोवर्द्धनधाम, भुवर र भवानीलगायत धार्मिक स्थललाई एउटै पर्यटन योजनामा आबद्ध गर्ने नाट्टाको तयारी छ।
यस्ता गन्तव्यलाई कैलाश मानसरोवर, लुम्बिनी, रारा तथा अन्य प्रमुख धार्मिक र आध्यात्मिक पर्यटकीय क्षेत्रसँग जोडेर नेपालगञ्जलाई बहुआयामिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
भारतीय पर्यटकलाई लक्षित गर्दै ‘स्मार्ट बोर्डर’ अवधारणा
भारतसँगको खुला सीमा र रुपैडिहा नाकाको भौगोलिक सम्भावनालाई पर्यटन प्रवर्द्धनमा उपयोग गर्नुपर्नेमा पनि नाट्टाले जोड दिएको छ।
भारतीय पर्यटकलाई लक्षित गर्दै रुपैडिहा नाकासम्म सहज आवागमनको व्यवस्था, पर्यटकमैत्री सीमा व्यवस्थापन तथा ‘ग्रीनलाइन’ र ‘स्मार्ट बोर्डर’अवधारणालाई कार्यान्वयन गर्न सम्बन्धित निकायसँग सहकार्य गरिने घोषणापत्रमा उल्लेख छ।
नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले नेपालगञ्जलाई पश्चिम नेपालको पर्यटन केन्द्रका रूपमा विकास गर्न सीमा, हवाई सेवा र धार्मिक गन्तव्यबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
उनले भारतीय पर्यटकलाई नेपाल भित्र्याउन रुपैडिहा नाकालाई थप व्यवस्थित र पर्यटकमैत्री बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि सम्बन्धित सरकारी तथा निजी निकायसँग सहकार्य गरिने बताए।
नाट्टाको यो पहलले नेपालगञ्जलाई केवल सीमावर्ती व्यापारिक सहरमा सीमित नराखी पश्चिम नेपालका धार्मिक, प्राकृतिक र साहसिक गन्तव्यतर्फ जाने प्रमुख पर्यटन प्रवेशद्वारका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्