काठमाडौं । नेपाल पर्वतारोहण संघले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। प्रक्रिया सफल भए विश्वका ‘आठ हजारिया’ हिमालको संख्या २० पुग्नेछ भने तीमध्ये १४ वटा नेपालमा पर्ने संघको दाबी छ।
सगरमाथा आरोही संघको २५औँ वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले थप ६ वटा अग्ला हिमाललाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिलाउन आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए।
उनका अनुसार विश्व पर्वतारोहण समुदायमा हाल परम्परागत रूपमा १४ वटा मात्र आठ हजार मिटरभन्दा अग्ला हिमाललाई मान्यता दिइँदै आएको भए पनि नेपालमा रहेका केही प्रमुख शिखर तथा उपशिखरहरूलाई पनि छुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउने पहल भइरहेको छ।
सफल भए नेपालमा १४ वटा आठ हजारिया हिमाल
अध्यक्ष शेर्पाले प्रक्रिया सफल भए विश्वभर अन्तर्राष्ट्रिय मान्यता प्राप्त आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या २० पुग्ने बताए। तीमध्ये १४ वटा हिमाल नेपालमा पर्ने उनको भनाइ छ।
यसअघि पर्यटन विभागले आफ्नो पिक–प्रोफाइलमा थप केही उच्च हिमाललाई समेटिसकेको छ। ल्होत्से क्षेत्रका ल्होत्से सार र ल्होत्से सेन्टरलाई समेत आधिकारिक सूचीमा राखिएको छ।
यस्तै, ताप्लेजुङस्थित कञ्चनजंघा हिमशृंखलामा पनि थप चार वटा अग्ला शिखर पहिचान गरिएको छ। तीमध्ये कञ्चनजंगा सेन्टर, कञ्चनजंगा साउथ, यालुङखाङ र यालुङखाङ वेस्ट रहेका छन्।
पर्वतीय पर्यटनमा नयाँ सम्भावना
थप हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए नेपालको पर्वतीय पर्यटनमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ। सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु र धौलागिरिजस्ता विश्वप्रसिद्ध हिमालसँगै नयाँ आठ हजारिया शिखरहरू थपिएमा आरोहीका लागि नयाँ गन्तव्य खुल्नेछन्।
यसले पर्वतारोहण, गाइड सेवा, होटल, हवाई सेवा, स्थानीय रोजगारी तथा हिमाली क्षेत्रको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।
शेर्पाले नेपाल विश्वकै उत्कृष्ट पर्वतीय पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै यसमा सरकार, पर्वतारोहणसम्बन्धी संघसंस्था, स्थानीय समुदाय र निजी क्षेत्रको संयुक्त योगदान रहेको बताए।
सगरमाथा आरोही संघसँग सहकार्य
कार्यक्रममा अध्यक्ष शेर्पाले सगरमाथा आरोही संघ र नेपाल पर्वतारोहण संघबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताए। नेपालको पर्वतारोहण क्षेत्रको विकास, आरोहीको सुरक्षा, हिमालको व्यवस्थापन तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनमा दुवै संस्थाले सहकार्य गर्दै आएको उनको भनाइ थियो।
नेपाल सरकारले आरोहणका लागि खुला गर्ने हिमाल तथा चुचुरोको सूची तयार पार्ने प्रक्रियामा समेत नेपाल पर्वतारोहण संघले महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए।
नेपाल विश्वका सर्वोच्च हिमालहरूको देशका रूपमा परिचित छ। अब थप छ वटा आठ हजार मिटरभन्दा अग्ला शिखरले अन्तर्राष्ट्रिय मान्यता पाएमा नेपालको पर्वतीय पहिचान थप बलियो बन्ने र विश्व पर्वतारोहणको नक्सामा नेपालको महत्व अझ बढ्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्