पोखरा । अविरल वर्षासँगै खसेको पहिरोका कारण पोखरा–सिक्लेस सडक अवरुद्ध भएको छ। मादी गाउँपालिका–१ अन्तर्गत पदुखोला क्षेत्रमा पहिरो खस्दा पर्यटकीय गाउँ सिक्लेस जाने मुख्य सडक बन्द भएको हो।
शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहेको र शनिबार बिहान खिलाङ र पार्चेबीच पर्ने पदुखोला क्षेत्रमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए।
पहिरोका कारण मादी गाउँपालिकाको पहलमा निर्माण गरिएको पदुखोलाको रेलिङ तथा ढलानसमेत क्षति पुगेको उनले बताए। सडकको संरचनामा समेत क्षति पुगेकाले पहिरो हटाएर यातायात सञ्चालन गर्न केही समय लाग्न सक्ने अनुमान गरिएको छ।
सडक खुलाउन समन्वय
अवरुद्ध सडक सञ्चालनमा ल्याउन आवश्यक उपकरण परिचालनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको वडाध्यक्ष गुरुङले बताए। स्थानीय क्षेत्रमा रहेका हाइड्रोपावर आयोजनासँग समेत उपकरण उपलब्ध गराउने विषयमा समन्वय भइरहेको उनले जानकारी दिए।
“सडक खुलाउन आवश्यक पर्ने उपकरणका लागि यहाँको हाइड्रोपावरसँग समन्वय गरिरहेका छौँ तर अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन,” उनले भने, “अब पोखराबाट प्राविधिक र आवश्यक उपकरणको व्यवस्था गरेर आज दिनभरिमा पहिरो पन्छाउने प्रयास गर्नेछौँ।”
सिक्लेस जाने पर्यटकलाई यात्रा स्थगित गर्न आग्रह
सडक खुलाउन समय लाग्न सक्ने भएकाले सिक्लेस जाने पर्यटकलाई तत्काल यात्रा नगर्न आग्रह गरिएको छ। वडाध्यक्ष गुरुङले मौसम र सडकको अवस्थालाई ध्यानमा राख्दै आइतबारसम्म सिक्लेस भ्रमणको योजना स्थगित गर्न अनुरोध गरेका छन्।
“बाटो खुलाउन आइतबारसम्म पनि लाग्न सक्छ,” उनले भने, “त्यसैले सिक्लेस घुम्न आउने योजना बनाएका पर्यटकलाई आइतबारसम्म यात्रा नगर्न आग्रह गर्दछौँ।”
प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति र हिमाली दृश्यका कारण सिक्लेस गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिन्छ। सडक अवरुद्ध भएपछि स्थानीयवासी तथा पर्यटकको आवतजावत प्रभावित भएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्