रामेछाप । ६१ वर्षीया एकल महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका २१ वर्षीय युवक गत वर्षको जेन–जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट फरार भएको खुलेको छ।
पक्राउ पर्नेमा २१ वर्षीय प्रेम विसुंखे रहेका छन्। प्रहरीले उनलाई गत वर्ष भदौ २४ गते सुनसरीको पकलीस्थित इलाका प्रहरी कार्यालयबाट हिरासतबाट फरार भएको जनाएको छ।
विसुंखे चोरीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका बेला फरार भएका थिए। हिरासतबाट भागेपछि उनी रामेछापमा आएर बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले भदौ २ गते रामेछाप नगरपालिका–४, तिलबारीकी ६१ वर्षीया एकल महिलालाई उनकै घरमा पुगेर जबरजस्ती करणी गरेको आरोप छ। घटनापछि फरार भएका उनको खोजीका लागि प्रहरीले टोली परिचालन गरेको थियो।
हिरासतबाट फरार भएपछि विसुंखे लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गर्दै आएको पनि खुलेको छ। घटनापछि उनी विभिन्न स्थानमा लुक्दै बसेको अवस्थामा इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार विसुंखेलाई रामेछाप नगरपालिका–४ तिलबारीमै कोही नबस्ने एक घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो।
पक्राउ परेका विसुंखेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। साथै, उनी यसअघि सुनसरी प्रहरीको हिरासतबाट फरार भएको विषयमा पनि सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान गरिने बताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्