काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले उपत्यकाको फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
मंगलबार भदौ ९ गते बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाएर उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गाको व्यवस्थापनलगायत विषयमा छलफल गर्ने निर्णय गरेको हो।
बैठकले भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी छलफलमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत आपत्ति जनाएको छ। उक्त विषयमा पनि प्रधानमन्त्रीसँगको भेटमा ध्यानाकर्षण गराउने फोरमले जनाएको छ।
फोहोर व्यवस्थापनबारे लामो छलफल
उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्री दाहाल काठमाडौं महानगरपालिकाका प्रमुख रहँदादेखि नै फोरमले छलफल गर्दै आएको जनाएको छ।
तत्कालीन सरकार र नेप बेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनका लागि नयाँ विकल्प खोज्ने विषयमा फोरमका बैठकमा पटक–पटक छलफल हुँदै आएको बताइएको छ।
तीन तहका सरकारबीच समन्वय आवश्यक
फोरमले उपत्यकाको फोहोर व्यवस्थापन संघ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारको साझा सरोकारको विषय भएको जनाएको छ।
फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै स्थानीय तह यस विषयमा आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको फोरमले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्